काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिन सर्वेक्षण सुरू गरेको छ।
आइतबारदेखि ज्येष्ठ नागरिकहरूको आधारभूत स्वास्थ्य अवस्था सर्वेक्षणको काम सुरू गरिरहेको ज्येष्ठ नागरिकहरूलाई घरमै आधारभूत स्वास्थ्य सेवा कार्यक्रमकी संयोजक कल्पना श्रेष्ठले जानकारी दिइन्।
उनका अनुसार सर्वेक्षणका लागि घरघरमा जाने नर्सलाई यसअघि नै तालिम दिइसकेको छ।
‘महानगरको ३२ वटै वडामा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कार्यरत नर्सहरूलाई हामीले परिचालन गरेका छौं,’ उनले भनिन्, ‘उनीहरूलाई घरघरमा पठाउनुअघि वीर अस्पतालबाट ४ दिने अभिमुखीकरण तालिम प्रदान गरिएको छ।’
यसरी घरघरमा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था स्क्यान गर्न एक जना सो समुदायको स्वास्थ्य स्वयंसेविका र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कार्यरत नर्स जानेछन्।
स्वास्थ्य जाँच गर्दा हरेक ज्येष्ठ नागरिकको ब्लड प्रेसर, शरीरको तापक्रम (ज्वरो), श्वासप्रश्वास, अक्सिजन सर्कुलेसन लेभल, शरीरमा अक्सिजनको मात्रा हेरिने उनले बताइन्।
यस्तै नर्सहरूले हरेक ज्येष्ठ नागरिकको स्वास्थ्य हिस्ट्री हेर्ने छन्। जसमा उनीहरूले कस्ता औषधि खाइरहेका छन्, खाने औषधि घाममा राखिएको छ/छैन लगायत पनि हेर्नेछन्।
उनीहरू बस्ने वातावरण सरसफाइका हिसाबले कस्तो छ, पौष्टिक आहार पाएका छन् कि छैनन् भनेर पनि हेर्नेछन्। ज्येष्ठ नागरिकहरूले कत्तिको देख्न र सुन्न सक्छन् भनेर पनि हेर्ने उनको भनाइ छ।
‘पहिलो चरणको स्वास्थ्य स्क्यानिङ गरेपछि उहाँहरूको एक किसिमको रिपोर्ट आउँछ,’ उनले भनिन्, ‘त्यसपछि आवश्यक परे उहाँहरूलाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा औषधि उपचार गराउँछौं। यदि त्यहाँबाट पनि नहुने रहेछ भने डाक्टरसँग सल्लाह गरेर वीर अस्पतालमा रिफर गर्छौं। त्यहीबाट थप उपचार हुन्छ।’
संयोजक श्रेष्ठका अनुसार आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकले थप उपचार गराउन आर्थिक भार होला भन्ने दुखेसो मान्नै पर्दैन।
उनका अनुसार यसअघि नै महानगरपालिकाले ज्येष्ठ नागरिकको एक लाखसम्म निःशुल्क बीमा कार्यक्रम लागू गरिसकेको छ। त्यसैले आर्थिक भार नपर्ने उनको भनाइ छ।
तर यदि कोही उक्त बीमा कार्यक्रममा छुटेको भए घरघरमा गएको फोकल पर्सनले सहजीकरणको काम गरिदिनेछ।
पहिलो चरणमा हरेक वडामा दैनिक ५–७ जना ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था स्क्रिनिङ हुनेछ भने यो काम जेठको अन्तिमसम्म गरिने महानगरको योजना छ।
कार्यवाहक मेयर सुनिता डंगोलले सर्वेक्षणमा जाने स्वास्थ्यकर्मीलाई सहज वातावरण बनाएर काम गर्न अनुरोध गरिन्।
‘यो पदीय जिम्मेवारी मात्र होइन। मानवीय सेवाको काम पनि हो। त्यसैले जिम्मेवारी पूरा गर्न होइन, कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकलाई हाम्रा लागि पनि कोही रहेछन् भन्ने हिसाबले मनदेखि नै अनुभूति गराउने आचरण अपनाउनुहोला,’ उनले भनिन्, ‘अप्ठ्यारो पर्दा साथ दिने कोही नहुँदा तपाईंले सोचेको जस्तो व्यवहार ज्येष्ठ नागरिकबाट प्राप्त नहुन सक्छ। यसलाई स्वाभाविक ठान्नुहोला र उहाँहरूलाई सम्झाई-बुझाई गरी सहज वातावरण बनाएर काम गर्नुहोला।’
यस्तै, यो सर्वेक्षणको केही सीमाहरू भएको संयोजक श्रेष्ठले बताइन्।
उनका अनुसार सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रहेका नर्सहरू नै यो कार्यक्रममा परिचालन गरिएको छ। धेरैजसोमा एक जना मात्रै नर्स हुँदा उनीहरूले पहिलो प्राथमिकता स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई दिनुपर्ने हुन्छ। त्यसपछि बचेको समयमा मात्रै सर्वेक्षणमा जानेछन्। जसले गर्दा सबै घरमा पुग्न नसकिएला भन्ने उनको आशंका छ।
यदि यो सर्वेक्षणले सबै घरधुरी समेट्न सक्यो भने यसले महानगरमा कति जना ज्येष्ठ नागरिक, कस्ता बिरामी छन् भन्ने लगायत सबै तथ्यांक आउने छ। जसले महानगरलाई स्वास्थ्य क्षेत्र र विशेष गरी ज्येष्ठ नागरिकका लागि कार्यक्रम बनाउन पनि टेवा पुर्याउने उनको विश्वास छ।





प्रतिक्रिया दिनुहोस्