अब रुकुम पूर्वबाट समाजवादको मोडेल खडा गर्छु : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरोधी अभियान मन नपराउने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन् । रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा चालेका कदमहरू केही शक्तिलाई मन नपरेको दाबी गरेका हुन् ।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध र सामाजिक विभेद अन्त्यका लागि निर्मम अभियान चलाएको स्मरण गरे । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूसँग सन्तुलित सम्बन्ध बनाएर मुलुकको समृद्धि बढाउने प्रक्रिया अघि बढाइरहँदा त्यही अभियान मन नपराउने समूह सक्रिय भई सरकार ढलाएको जिकिर गरे । अधुरा रहेका ती सुशासन र समृद्धिका अभियान पूरा गर्नका लागि जनताको र कार्यकर्ताको दृढता आवश्यक पर्ने भएकाले आफू पुनः जनताको बीचमा जान लागेको उनले प्रष्ट पारे ।

SHIKHAR COOL TECH

आगामी निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बन्ने निर्णय लिनुको कारण खुलाउँदै प्रचण्डले यो केवल निर्वाचन क्षेत्र फेर्ने कुरा मात्र नभएको बताए । उनले रुकुम पूर्व जनयुद्धको केन्द्रीय आधार इलाका भएको र ऐतिहासिक चुनवाङ बैठकबाटै नेपालमा गणतन्त्रको शंखघोष गरिएको स्मरण गरे । चुनवाङ बैठकले नै महिला, दलित, जनजाति र उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाउने नीति पास गरेको भन्दै उनले पार्टी इतिहासको अविस्मरणीय ‘लाभाङ बैठक’ र हुकाम–मैकोटको प्रतिरोधको विरासतलाई सम्मान गर्न आफू त्यहाँ जान लागेको बताए । देश अहिले ‘जेनजी’ आन्दोलन र विभिन्न विध्वंसपछि जटिल मोडमा रहेकाले राष्ट्रलाई एकताबद्ध गर्न र आन्दोलनलाई नयाँ उचाइ दिन रुकुम पूर्व रोज्नुपरेको उनको भनाइ छ ।

प्रचण्डले आफू भोट माग्न र चुनाव जित्नका लागि मात्र रुकुम पूर्व जान नलागेको दाबी गरे । उनले रुकुम पूर्वमा विकास, उत्पादन र रोजगारीको नयाँ ‘मोडेल’ खडा गरेर त्यसलाई समाजवादको भ्रूणका रूपमा विकास गर्ने योजना सुनाए । त्यहाँको जडीबुटी, पर्यटन, अर्ग्यानिक कृषि र आधुनिक भेडा पालनमार्फत हजारौँ युवालाई रोजगारी दिएर समाजवादको आधार तयार पार्ने आफ्नो सपना रहेको उनले बताए ।

तेस्रो पटक प्रधानमन्त्री हुँदा आफूले जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरेको र पीडित परिवारलाई रोजगारी तथा आर्थिक परिपूरण दिने विधेयक तयार पारेको उनले जानकारी दिए । उक्त विधेयक कार्यान्वयनको सुरुवात आधार इलाकाबाटै गरेर सहिद र घाइतेहरूलाई उच्च सम्मान दिन आफू रुकुम जानुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे । प्रचण्डले आफ्नो जीवनको बाँकी समय राष्ट्र, सुशासन र समाजवादका निम्ति समर्पित गर्ने सङ्कल्प लिएको बताउँदै रुकुम पूर्वका जनताको भावना र विकासको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार