काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले आगामी संसदीय निर्वाचनपछि पार्टीका महामन्त्री गगन थापा नै मुलुकको प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
टी-२० विश्वकपका लागि प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शर्माले भावी नेतृत्वबारे प्रष्टोक्ति दिएका हुन् । ‘आसन्न निर्वाचनपछि प्रधानमन्त्री बन्ने पालो गगन थापाकै हो,’ शर्माले दृढताका साथ भने, ‘यसमा कुनै द्विविधा पाल्नुपर्दैन ।’
पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दीबारे सोधिएको प्रश्नमा नेता शर्माले कांग्रेस नफुटेको बरु लोकतान्त्रिक अभ्यासबाट नयाँ नेतृत्व चयन भएको तर्क गरे । लोकतन्त्रमा प्रतिस्पर्धा र विचार समूह हुनुलाई सामान्य रूपमा लिनुपर्ने भन्दै उनले निर्वाचन आयोगको निर्णयलाई सबैले शिरोपर गर्नुको विकल्प नभएको बताए । ‘नयाँ नेतृत्वले पार्टीलाई एकढिक्का बनाएर लैजानेछ,’ उनले भने ।
शर्माले अबको निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिने संकेतसमेत गरे । गठबन्धनको राजनीतिप्रति अरुचि देखाउँदै उनले कांग्रेस कुनै पनि दलसँग तालमेल नगरी चुनावमा जाने बताए । नेता कार्यकर्तालाई आपसी ‘इगो’ त्यागेर जनतामाझ जान उनले सुझावसमेत दिए । ‘अब सहरमा बसेर होइन, गाउँ पस्ने हो र ट्याक-ट्याक चुनाव जित्ने हो,’ शर्माले आफ्नै शैलीमा भने ।




प्रतिक्रिया दिनुहोस्