धनगढी।कैलाली जिल्लाको घोडाघोडी नगरपालिका-१ वडा कार्यालयले लामो समयपछि आजदेखि पुनः सेवा सञ्चालन सुरु गरेको छ। केही समयअघिको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले वडा कार्यालयमा आगजनी गरेको कारण नियमित प्रशासनिक कामकाज अवरुद्ध भएको थियो।
वडाध्यक्ष घनश्याम ओझाका अनुसार कार्यालयमा आगलागी हुँदा फर्निचर, कागजात र अन्य सामग्रीहरूमा क्षति पुगेको थियो। त्यसपछि सेवा लिन आउने स्थानीयवासीलाई ठूलो असुविधा भएको थियो।
वडा स्तरमै हुने जन्म, मृत्यु, नागरिकता सिफारिस, सामाजिक सुरक्षा भत्ता वितरण, जग्गा-जमिनसम्बन्धी कागजात प्रमाणित गर्ने लगायतका सेवा रोकिएको कारण नागरिकहरू अन्यत्र धाउनुपर्ने अवस्था आएको थियो।
आन्दोलनका कारण केही समय कार्यालय ठप्प भए पनि अहिले मर्मत र सरसफाइका काम पूरा गरेर पुनः सेवा सुरु गरेको वडाध्यक्ष ओझाले बताए।
उनका अनुसार अब नियमित सेवासँगै विकास निर्माणका स्थगित कामहरू पनि क्रमशः अघि बढाइनेछ।स्थानीय बासिन्दाले कार्यालय सञ्चालनमा आएपछि सहज महसुस गरेको प्रतिक्रिया दिएका छन्।
वडा कार्यालय सञ्चालनमा नहुँदा सामान्य सिफारिसपत्र लिनसमेत टाढा टाढा जानुपर्ने बाध्यता हटेको उनीहरूको भनाइ छ।
यसरी लामो समयपछि वडा कार्यालय सञ्चालनमा आउनुले स्थानीय प्रशासनिक प्रणाली पुनःस्थापनाको दिशामा सकारात्मक सन्देश दिएको स्थानीयवासीको धारणा छ।
प्रतिक्रिया दिनुहोस्