कैलाली – कैलाली, कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायले आइतबार तिज पर्व मनाउँदै छन । आज महिला दिदीबहिनीहरू दिनभरि निराहार व्रत बसेर तिज पर्व मनाउन लागेका हुन । यो पर्वमा दिनभरि व्रत बसेर साँझ नदीमा पूजाआजा गरेर त्यहीँ प्रसादको रूपमा तयार पारिएको परिकार खाने चलन छ । राना थारु समुदायको तिज अरू समुदायको तिजभन्दा फरक हुने गरेको छ । महिलाहरू आफ्नो दाजुभाइ, भतिजाको दीर्घायुको कामना गर्दै व्रत बस्ने गरेका छन् । नेपालमा अन्य समुदायले मनाइने तिजको अवसरमा महिनौँ दिनसम्म दर खाने गरेपनि राना थारु समुदायका महिलाले दरबिनाको तिज मनाउने गरेका छन् ।
राना थारु समुदायले तीजको दिन दिनभरि निराहार व्रत बसेर अपराह्न वा बेलुकातिर नदीमा गएर पूजा गर्ने त्यस क्रममा समानकी डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर लग्ने गर्दछन् । यसै गरी, झुरकी (कुसको गाँठो) बनाएर लग्ने चलन छ ।
विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने चलन छ । मुरिया र झुरकी दुवै नदीमा सेलाइन्छ । सो क्रममा व्रतालुहरुले झुरकी र मुरियालाई नदीको धारमा छोडेर ‘धारै धार टाढा जानू, हाम्रो दाजुभाइ, भतिजाको उमेर बढाउनू’ भन्ने गरिन्छ । झुरकी नदीमा बगेर जति टाढा गए दाजुभाइ, भतिजाको आयु त्यति नै लामो हुने विश्वास रहेको छ ।
तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ । यसै गरी, दाजुभाइहरूले व्रतालुहरूलाई आशीर्वादको साथै सकेको दक्षिणा पनि दिने गरिन्छ ।
पालिकाहरुद्धारा विदा
यसैबिच राना थारू समुदायले मनाउने तीज पर्वको अवसरमा कैलालीको गोदावरी नगरपालिकाले सार्वजनिक विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै श्रावण शुक्ल तृतीयाका दिन राना थारु समुदायको तिजको अवसरमा स्थानीय विदा दिने निर्णय गरेको जनाएको छ ।
राना थारू समुदायले मनाउने तीज पर्वको अवसरमा कैलालीको धनगढी उपमहानगरपालिकाले पनि विदा दिएको छ । यस्तै कञ्चनपुरका पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाडी गाउँपालिकाले सार्वजनिक विदा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्