बैतडी: बिदेश जाने एउटा नशा जस्तै भइसकेको छ । पहाडका बिघौँ जमिन बाँझो छोडेर बिदेश तम्सिने परिपाटीले यहाँको युवा पुस्ता गाउँमा भेट्नै मुस्किल छ । युवाहरु अब गाउँ घर भन्दा सहर बजार हुँदै बिदेश तिर मात्रै पलायन भइरहेका छन् । बिदेश बसेर पनि ठुलो उपलब्धी गर्न सकिरहेका छैनन् । बषौँसम्म आफ्नो घर परिवार छोडेर अर्काको देशमा मजदुरी गर्ने अनी घर फर्किदा देखिने त्यो पैँसा को कुनै अर्थ हुँदैन । तर हाम्रा युवाहरु यो कुरा बुझ्नुभन्दा पनि पैँसाको रुख फल्ने हो की झैँ बिदेश हानिरहेका छन् । यो बिदेश जाने क्रम नरोकिए स्वयम युवाले त पछुताउनुपर्छ र राज्यलेपनि त्यसको घाटा ब्यहोर्नै पर्ने हुन्छ । यि यस्ता बिदेश जानेका पछाडी नलागेर गाउँमै घट्ट चलाएर बसेका छन्, बैतडीका एक युवक । साथीभाई हरुले ल्याएको बिदेश जाने प्रसताव अस्वूकार गर्दै ति युवक आफ्नै गाउँमा घट्ट चलाएर मनग्य आम्दानी गरिरहेका छन् ।
पाटन नगरपालिका वडा नं ६ का ३८ वर्षीय गणेश सिंह भण्डरी बिहान सबेरै उठेर घट्ट चलाउन हिड्छन् । दिनैभर स्थानीयहरुले पिसानीका लागि ल्याएका अन्न पिस्नमा व्यस्त हुन्छन् । उनाके यो दैनिकी एक दशकदेखिको हो । घर नजिकै भएर बग्ने सुर्नया नदी किनारमा उनले बिगत १० वर्षदेखि व्यावसायिकरुपमा पानी घट्ट चलाइरहेका छन् । दैनिक करिब ८ क्वीन्टलसम्म अन्न पिसानी गर्ने गरेका भण्डारी साँझसम्म नै घट्ट चलाउन व्यस्त हुन्छन् । उनले सञ्चालन गरेको घट्टमा अन्न पिसानी गर्नेहरुको भिड लाग्ने गर्छ ।
बैतडी लगायत सुदूरपहाडका खोलाहरुमा एक समयमा पानी घट्ट थुप्रै हुने गरेका थिए । सामुहीक र एकलगरी ठाउँठाउँमा घट्ट निर्माणगरी सञ्चालन गरिन्थ्यो । यतायात तथा विद्युतीेय सेवा नपुगेको ठाउँमा घट्टबाटै पिसानी गर्ने गरिन्यथो । यहाँका खोलाहरुमा पाँच सय मिटरको दुरीमा घट्टहरु भेटिने गर्थे । सबै प्रकारका अन्नहरुपनि सोही घट्टबाटै पिसानी गर्ने गरेका थिए । आफ्नै खेतमा उत्पादित अन्न, गहुँ, मकै, जौँ, कोदो पिसानी गर्ने गरिएको थियो । ‘यही सुर्नयामा पनि थुप्रै घट्टहरु थिए, अचेल देखिदैनन्, मैले सुरुवातदेखि नै आधुनिक औजार प्रयोग गरी घट्ट चलाइरहेको हु,’ घट्ट व्यावसायी भण्डारी भन्छन् । पछिल्ला दिनहरुमा पानी घट्ट लोप हुने अवस्थामा पुगेका छन् । बजार क्षेत्रमा आटामीलहरु सञ्चालन भइरहेका छन् । स्थानीय खोलाहरुमा छ्यापछ्याप्तीरुपमा देखिने घट्टहरु पछिल्ला वर्षहरुमा देखिनै मुस्किल हुने गरेको छ । भण्डारीले भने बिगत १० वर्षदेखि घट्ट चलाएर मनज्ञ आम्दानी गरिरहेका छन् । ठाउँठाउँमा घट्ट निर्माण भइरहेका क्रमदेखि नै व्यावसायीक घट्ट चलाइरहेका भण्डारीले अनवरतरुपमा आजसम्म व्यावसायीकरुपमा घट्ट चलाइरहेका छन् ।
२०७१ सालदेखि व्यावसायिकरुपमा घट्ट व्यावसाय सुरु गरेका भण्डारीले घट्ट व्यावसायबाटै मासिक ३० हजार रुपैयाभन्दा बढी कमाउने गरेका छन् । भण्डारीले दिनैभर घट्ट चलाएर घरपरिवार मात्रै पालेका छैनन्, छोराछोरीरुहलाई शिक्षादिक्षा दिइरहेका छन् । ‘दिउँसोको समयमा घट्ट चलाउने गरेको छु, कमाइ राम्रै चलेको छ, परिवार पालेकै छु, छोराछोरी पढाउन पुगेकै छ,’ भण्डारी भन्छन् । भण्डारीको घरमा श्रीमती र दुई छोराछोरी छन् । आफ्नै लगानीमा घट्ट निर्माण गरेका भण्डारीले वार्षिक ३ लाखसम्म बचत गर्ने गरेका छन् । भण्डारीले सुरुमा करिब २ लाख लगानी गरेर घट्ट व्यावसाय थालेका हुन् । पानीबाटै सञ्चालन भइरहेको घट्टमा केही आधुनिक उपकरणको प्रयोग गरिएको छ । पानीबाटै चल्ने मोटर र आधुनिक जात्रा जडान गरेको उक्त घट्टबाट दैनिक ८ क्वीन्टलसम्म अन्न पिसानी हुने गरेको छ ।
भण्डारीले सञ्चालन गरेको भट्टमा गहुँ, जौँ, मकै, चामल र कादो लगायतका अन्न पिसानी गर्ने गरिन्छ । पिसानी गरेवाफत भण्डारीले प्रतिकेजी ३ रुपैयादेखि ६ रुपैयासम्म लिने गरेका छन् । यस घट्टमा पाटन नगरपालिका वडा नं ६ सहित वडा नं ३ र ४ का स्थानीयहरुले पिसानीका लागि गेडागुडी ल्याउने गरेका छन् । पछिल्लो समयमा बजार क्षेत्रमा छ्यापछ्याप्ती आटामीलहरु खुलेको भएपनि यस क्षेत्रका स्थानीयहरुले भने पानी घट्टमै आएर अन्न पिसानी गर्ने गरेका छन् । बजारमा सञ्चालन गरिने आटा मिलहरुको भन्दा पानी घट्टबाट पिसानी गरिएको पिठो राम्रो हुने गरेको सेवग्राहीको बुझाइ छ । बजारमा चल्ने पिसानी मेसिनमा तातोपना बढी हुने भएकाले रोटी स्वादीलो नहुने स्थानीय मैनादेवि चन्द बताउछिन् । ‘विद्युतबाट चल्ने ठुलो मिलमा पिसिएको पिठो निकै तातो हुन्छ, त्यसमा पिसिएको पिठोबाट बनेको रोटीमा स्वाद मर्छ, पानी घट्टमा पिसानी गरिएको पिठोबाट बनेका रोटी स्वादीला हुन्छन, हामि त घट्टकै पिठो राम्रो मान्छौँ, बानी परीसक्यो ।’ चन्द भन्छिन् । आफ्नै क्षेत्रमा सहजै पिसानीको व्यवस्था भएपछि गेडागुडी पिसानीकै लगि बजार चाहानुपर्ने झण्जट पनि हटेको चन्द बताउछिन् ।
आफ्नै गाउँठाउँमा उपलब्ध श्रोतसाधनको उपयोग गरी प्रयाप्त आम्दानी गर्न सकिने घट्ट व्यावसायी भण्डारीको भनाई छ । ‘मैले घरमा बंगुर पालन पनि गरेको छु, बिहान बेलुका बंगुरको पनि हेरचाहा गर्ने गर्छु, परिवारका सदस्यहरुले पनि मेरो पेशामा सहयोग गरेका छन्, आफ्नै गाउँठाउँमा व्यावसाय गर्न प्रयाप्त अवसर छन्, यहाँ उपलब्ध श्रोत साधनको उपयोग गरेर राम्रै आम्दानी गर्न सकिन्छ, पपिरवार पाल्न र छोरीछोरी पढाउनकै लागि विदेश चाहार्नु आवश्यक ठान्दिन, यही अवसरहरु छन्,’ भण्डारी भन्छन् । आफ्नै घर नजिकै स्थानीय श्रोत साधनको उपयोग गरी घट्ट व्यावसाय सञ्चालन गरेका भण्डारी आफ्नो कामप्रति सन्तुष्ट छन् । ‘घरकै खाना खाएर दिनभरी घट्टमै काममा व्यस्त हुन्छु, घरका सदस्यहरुले पनि यस काममा सहयोग गरेका छन् ।’ भण्डारी भन्छन् ।
घट्ट व्यावसायी भण्डारी राज्यस्तरबाट कुनै सहयोग नपाउदा उनि खिन्न देखिन्छन् । ‘स्थानीय तह, घरेलुको कार्यालय र आन्तरिक राजश्व कार्यालयमा फर्म दर्ता गरेर घट्ट व्यावसाय गरिरहेको छु, तर हालसम्म कुनै पनि निकायबाट सहयोग पाइएन,’ भण्डारी भन्छन्, ‘गत वर्ष बाढीका कारण घट्ट सञ्चालन गरेको घरमा क्षति पुग्यो, सहयोगको लागि पालिकामा निवेदन दिएको थिए, तर कुनै सहयोग भएन,’ भण्डारी भन्छन् । विभिन्न निकायमा व्यावसायिक परियोजना पठाएको भएपनि कतैबाट सहयोग प्राप्त नभएको भण्डारीको दुःखेसो छ । ‘आफ्नो ठाउँमा उपलब्ध श्रोत साधनको उपयोग गर्दै सञ्चालन गरेको सानो व्यवसाय गरेको हु, यहाँ राज्यस्तरले सहयोग गरेमा यसलाई थप विस्तार गरी ठुलो क्षमताको बनाउने मन थियो, तर कतैबाट सहयोग जुटेको छैन छानो मर्मतका लागि पनि सहयोग गरेनन्, ।’ भण्डारी भन्छन् ।
बजार क्षेत्रमा विद्युतबाट चलेको मिलभन्दा ठूलो क्षमताको पानी घट्ट सञ्चालन गरेर क्षमता विस्तार गर्ने योजना भएपनि राज्यस्तबाट सहयोग नपाउदा अहिलेकै अवस्थामा सिमित भएको भण्डारीको भनाइ छ । ३ सय मिटर दुरीबाट कुलो ल्याएर घट्ट चलाइरहेका भण्डारीलाई वर्षादको समयमा सुर्नया नदीले कुलो बगाउने गरेको छ । उक्त समयमा उनि पुनः मर्मत गरी घट्ट सञ्चालन गरिरहन्छन् । नदीले कटान गर्न थालेपछि अहिले घट्ट सञ्चालन गरिरहेको घर पनि जोखिममा परेको छ । कुनै निकायबाट तटबन्धनको व्यवस्थापन गर्न सके सहयोग पुग्ने भण्डारीको भनाइ छ ।
व्यावसायिकरुपमा घट्ट चलाएवाफत पाटन नगरपालिकासहित घरेलु कार्यालयबाट फर्म नविकरण गर्दा आफुलाई सरकारप्रति निरासापन बढ्ने गरेको घट्ट व्यावसायी भण्डारीको गुनासो छ । घट्ट व्यावसाय सञ्चलन गरिरहेका भण्डारीले घट्ट प्रविधिलाई जोगाइरहेको भन्दै प्रशंसा गर्ने गरेका छन् । ‘आजभोली घट्ट सबै बाँझा (लोप हुने अवस्थामा)परीसके, धेरै कम भइसके, यो हाम्रो दैनिक जिवनसँग जोडिएको स्थानीय बलियो प्रविधि हो, तर गणेश सिंह भण्डारीले घट्ट प्रविधिलाई जोगाइराखेका छन्,’ स्थानीय एवं पाटन बहुमुखी क्याम्पसका प्रमुख उत्तम भण्डारीले भने ।
पानी घट्ट लोप हुने अवस्थामा पुग्दा उनले घट्ट व्यावसाय सञ्चालनले पुरातन चलनको पनि संरक्षण गरेको क्याम्पस प्रमुख भण्डारीले बताए । स्थानीयस्तरमा उपलब्ध श्रोत साधनको उपायोग गरी उद्योग सञ्चालन गरिरहेका व्यावसायीहरुलाई राज्यस्तरबाट उचित सहयोग उपलब्ध गराउनुपर्ने जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख सिद्धराज भट्ट बताउछन् । ‘यस्ता व्यावसायीहरु हाम्रा पहिचान र सम्पती हुन्, यस्ता उद्योगहरुलाई प्रवद्र्धन गरी अन्य युवाहरुलाई पनि आकर्षित गर्नुपर्ने देखिन्छ,’ । निवर्तमान जिसस प्रमुख भट्ट भन्छन् । स्थानीय युवाहरुलाई साना उद्योग सञ्चालन गर्नको लागि उत्प्रेरणा मिल्नेगरी प्रोत्साहन दिनुपर्ने भट्टले बताए ।
बैतडीको पाटन नगरपालिकाका अनुसार पालिकामा एक मात्रै घट्ट व्यवसाय फर्म दर्ता गरिएको छ । स्थानीय स्तरमा उपयोग श्रोत साधनको उपयोगगरी व्यावसाय सञ्चालन गरिरहेकाहरुलाई नगरपालिकाबाट आवश्यक सहयोग गर्न तयार रहेको पाटन नगरपालिकाका नगरप्रमुख गौरी सिंह रावलको भनाइ छ । ‘हाम्रो पालिकामा धेरै व्यवसायीहरुले सहयोगको माग गर्ने गरेका छन्, यस्ता फर्महरुलाई प्रवर्धन गर्नको लागि आवश्यक कार्यक्रम ल्याउछौँ,’ नगर प्रमुख रावल भन्छन् । सबै क्षेत्रका व्यावसायी र सिमा क्षेत्रको परिधीभित्र रहेका काम गर्नुपर्ने भएकाले सबैलाई सहयोग गर्न नसकिएको नगर प्रमुख रावलले बताए ।


			
					
					
					
					
					

                    
                    
                    
                    
                    
                    
प्रतिक्रिया दिनुहोस्