काठमाडौं : अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डाइरेक्ट रिलिफको सहयोग र वान हार्ट वल्र्डवाइडको समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।
मन्त्रालयले आइतबार नै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरू विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल,भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोईराला प्रखर क्यान्सर अस्पताल बाँके र वीर अस्पताल काठमाडौंलाई हस्तान्तरण समेत गरेको छ ।
औषधिहरू असार २७ गते शुक्रबार नेपाल आइपुगेका थिए । सोही दिन स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले भण्डारण गरेको थियो । औषधि तथा सामग्रीहरू हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा क्यान्सरका धेरै समस्याहरू रहेको र औषधि पनि महंगो रहेको बताउनु भयो ।
साथै उपलब्ध हुन समस्या हुने र विपन्न नागरिकहरू यसको पहुँच बाहिर रहने भएकाले विपन्न नागरिकहरूलाई लक्षित गरी औषधि ल्याइएको उहाँले बताउनु भयो । यसले धेरै नागरिकलाई राहत पुर्याउने विश्वास आफ्नो रहेको पनि उहाँले बताउनु भयो ।
औषधिमा राज्यको कुनै लगानी नरहेको र राज्यको लगानी बिनै नागरिकलाई केही राहत दिनका लागि सरकारले प्रयास गरेको उहाँले बताउनु भयो । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा क्रमशः सुधार गर्दै लैजाने प्रतिवद्धता उहाँले जनाउनु भयो ।
नेपालमा झन्डै ५० लाख मानिसले अस्पताल जानुपर्छ, उपचार सेवा उपलब्ध छ, राज्यले कतिपय रोगको निःशुल्क उपचार गर्दछ भन्नेकुरा नै जानकारी नहुने गरेको उहाँले बताउनु भयो । लक्षित समूहलाई यसबारे बुझाउने गरी काम गर्न जरूरी रहेको उहाँकाे भनाइ छ ।
स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू चार अस्पतालमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क उपलब्ध गराइनेछ ।
मन्त्रालयले सम्बन्धित निकायहरूको सहयोग र समन्वयमा यी औषधि तथा स्वास्थ्य सामग्रीहरू भविष्यमा पनि निरन्तर उपलब्ध गराइने मन्त्रालयले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्