कैलाली : धनगढी उपमहानगरपालिका–५ तारानगर रहेको गन्तव्य सुधार केन्द्रले समाजमा सकारात्मक योगदान पुयाउने उद्देश्यले गर्भवती महिलाहरूका लागि २४ सै घण्टा निःशुल्क सवारी (एम्बुलेन्स) सेवा सुरु गरेको छ। अबदेखि धनगढी उपमहानगरपालिका क्षेत्रभित्र आपतकालीन अवस्थामा परेका गर्भवती महिलाहरूलाई केन्द्रले निःशुल्क सवारी सेवा उपलब्ध गराउने गन्तव्य सुधार केन्द्र – धनगढीका संचालक कबिन्द्र ठकुल्लाले जानकारी दिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सुरु गरिएको यो सेवा विशेषगरी आर्थिक कठिनाइ भोगिरहेका, सवारी नपाएर समस्यामा परेका, र विशेषगरी रातको समयमा गाडी नपाउने अवस्थाका महिलाहरूका लागि अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ । गन्तव्य सुधार केन्द्र हाल धनगढी क्षेत्रको सुविधासम्पन्न, व्यवस्थित र फराकिलो सुधार केन्द्रमध्ये एक मानिन्छ। हाल केन्द्रमा ४१ जना सेवाग्राही सुधार प्रक्रियामा छन् भने सयौं व्यक्ति सफल उपचारपछि समाजमा पुनः फर्किइसकेका छन्।
“हामी नशामुक्ति केन्द्र मात्रै होइनौं — हाम्रो उद्देश्य सुधारसँगै समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो। गर्भवती आमाहरू आपतकालीन अवस्थामा गाडी नपाएर ज्यान जोखिममा पार्नु हुँदैन भन्ने सोचका साथ यो सेवा सुरु गरेको सञ्चालक ठकुल्लाको भनाई छ । “यो अभियान हाम्रो संस्थाको सामाजिक प्रतिबद्धताको प्रतीक हो।
सानो प्रयासले पनि ठूलो राहत दिन सक्छ भन्ने हाम्रो विश्वास छ। सुरक्षित मातृत्व हरेक आमाको अधिकार हो — हामी त्यसमा सघाउने प्रयत्न मात्रै गरेका अर्का सञ्चालक धरम पडाले बताए । थप जानकारीका लागि सम्पर्क धरम पडाल – ९८५८४२३८३६,कबिन्द्र ठकुल्ला – ९८५११८६८९६,भुवन पडाल – ९८२२६३४२७४ लाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्