धनगढी : कैलालीको गोदावरीमा पावर टिलर दिने भन्दै ठगिएका ५० किसानले उजुरी दिएका छन् । सुरो नेपालको नाममा गोदावरी नगरपालिका– ६ का वडाध्यक्ष जग्गुराम चौधरीकी बुहारी ३२ वर्षीय प्रीयंका चौधरीका नाममा उजुरी दिएका हुन् ।
एक वर्ष अघि अनुदानमा पावर टिलर लगायत कृषि उपकरण दिने भन्दै ठगिएका गोदावरी नगरपालिका ४, ६ र ८ का किसानले मंगलबार इलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएका छन । उजुरी कर्ता मध्येका एक मान बहादुर चौधरीले गाउँमा आफूहरुलाई भेला गरी २ महिना भित्रमा किसानहरुले माग गरेका कृषि उपकरण दिने भन्दै २०८१ साउनमा पैसा संकलन गरे पनि अहिलेसम्म कुनै सामान नपाएको बताए ।
उजुरीमा ३६ लाख १७ हजार बराबरको रकम प्रीयंकाले उठाएको उल्लेख छ । किसानहरुले दिएको उजुरीमा प्रीयंकाले पछिल्लो समय रकम र सामान नदिने भन्दै उल्टै धम्की दिने गरेको उल्लेख छ । पावर टिलर दिने भन्दै गोदावरीमा रकम संकलन गरेकी सोनम चौधरीको नामको उजुरी भने फिर्ता गरिएको छ ।
सुरो नेपालकी अध्यक्ष खड्का सहित प्रीयंकाकी आमा सुनिता चौधरीलाई प्रहरीले जेठ १७ गते काठमाण्डौंबाट पक्राउ गरेर कञ्चनपुर ल्याइसकेको छ । दुवै जना विरुद्ध कञ्चनपुरको कृष्णपुरका किसानले उजुरी दिएका थिए । दुवै जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।
गोदावरीमा मात्रै सुरो नेपालका नाममा ११० किसान ठगिएको बताइए पनि मंगलबार प्रीयंकाबाट ठगिएका ५० जना र सोनमबाट ठगिएका ४४ जना किसान इलाका प्रहरी कार्यालयमै पुगेका थिए । दुवै जनाले गोदावरीमा किसानबाट ७० हजार देखि १ लाख ३० हजार सम्म रकम उठाइएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्