मनसुन थप सक्रिय : पश्चिममा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ : देशभर मनसुनी वायु सक्रिय भएसँगै भारतको पश्चिम बंगालमा विकसित न्यून चापीय क्षेत्रको आंशिक असरले नेपालको मौसममा बदली आएको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा ‘भारीदेखि धेरै भारी’ वर्षाको सम्भावना रहेको औँल्याउँदै बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

महाशाखाका अनुसार सोमबार देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । विशेषगरी सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ ।

महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै गण्डकी प्रदेशको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विशेष चेतावनी दिएको छ । यसका कारण पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहेको छ भने तराई र सहरी क्षेत्रमा डुबानको खतरा बढेको छ । उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ ।

सम्भावित वर्षा र त्यसले निम्त्याउन सक्ने प्राकृतिक विपत्तिका कारण सर्वसाधारणको दैनिक जीवन, कृषि, स्वास्थ्य, पर्यटन र यातायात क्षेत्र नराम्ररी प्रभावित हुन सक्ने देखिएको छ । ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले नदीतटीय क्षेत्रका बासिन्दा तथा निर्माण कार्यमा संलग्नहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ ।

हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा मौसम सामान्यतया बदली रहेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार