धनगढीमा मुस्लिम समुदायद्वारा पहिलोपटक लागू औषध दुर्व्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

धनगढी – नेपाली नूरी जामे मस्जिद संघ, धनगढीको आयोजनामा तथा जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा लागू औषध दुर्व्यसनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। मुस्लिम समुदायबाट यो पहिलोपटक लागू औषध दुर्व्यसनविरुद्ध यस्तो कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमको उद्देश्य सामाजिक उत्तरदायित्व बहन गर्दै दुर्व्यसनमा लागेका युवाहरूलाई कसरी रोकथाम गर्न सकिन्छ र दुर्व्यसनमा लाग्न नदिन के के उपाय अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा समुदायलाई जानकारी दिनु रहेको आयोजकले जनाएका छन्।

Seti Hospital

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल रहेका थिए भने विशिष्ट अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक बाल नरसिंह राणा, मनोरोग विशेषज्ञ डा. प्रभात सापकोटा तथा निर्वाचन आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख प्रेमराज भट्ट सहभागी थिए। साथै गौसिहा र अत्तरियाका मस्जिद अध्यक्षहरू पनि कार्यक्रममा उपस्थित थिए।

कार्यक्रममा डा. प्रभात सापकोटाले लागू औषध दुर्व्यसन कुनै अपराध नभई मानसिक तथा व्यवहारिक समस्या भएको उल्लेख गर्दै यसको उपचार सम्भव रहेको जानकारी दिए। उनले यसलाई रोगका रूपमा हेरेर सहानुभूतिपूर्वक व्यवहार गर्नुपर्ने आवश्यकता औंल्याए।

त्यस्तै, प्रहरी उपरीक्षक बाल नरसिंह राणाले आफू कैलालीमा आएदेखि लागू औषध सम्बन्धी समस्या गम्भीर रुपमा लिँदै आएको बताए। उनले जिल्लामा प्रहरी कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको र दुर्व्यसनविरुद्ध एक कार्यविधि बनाई गहिरो अध्ययनका साथ अघि बढिरहेको जानकारी दिए।

कार्यक्रमका प्रमुख जिल्ला अधिकारी हमालले लागू औषध दुर्व्यसन अहिले कैलाली जिल्लामा गम्भीर समस्या बन्दै गइरहेको उल्लेख गर्दै यसको अन्त्यका लागि सबै पक्ष एक भएर लाग्नुपर्ने धारणा राखे। उनले मुस्लिम समुदायको यसखाले पहल अत्यन्त सराहनीय भएको भन्दै अन्य संस्थाहरूले पनि यसबाट प्रेरणा लिनुपर्ने बताए।

कार्यक्रम नूरी जामे मस्जिद संघ धनगढीका अध्यक्ष डा. मेराज आलम अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो। डा. अन्सारीले आफू स्वास्थ्यकर्मी भएका कारण समाज र स्वास्थ्य दुबै क्षेत्रबाट सेवा गर्न पाएकोमा गर्व लागेको बताए।

कार्यक्रममा बिवेल रिह्याबिलिटेशन सेन्टरलाई सम्मान गरिएको थियो। पवन शेरचनले विगतमा आफैं लागू औषध प्रयोगकर्ता रहे पनि पछिल्लो ६ वर्षदेखि सुधार र पुनःस्थापनाको क्षेत्रमा काम गरिरहेको बताए।

कार्यक्रममा लागू औषध दुर्व्यसनले पार्ने व्यक्तिगत, पारिवारिक र सामाजिक असरहरू, यसको रोकथाम तथा उपचारका उपायहरू लगायतका विषयमा जानकारीमूलक छलफल भएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, मुस्लिम समुदायका अगुवा तथा युवा सहभागिता देखिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार