एसपीए कलेजले दुई जना जेहेन्दार विद्यार्थीले छात्रवृत्ति दिने !

धनगढी : सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) धनगढीले ग्रामीण तथा सामुदायिक विद्यालयमा अध्ययनरत सुदूरपश्चिमका प्रतिभाशाली विद्यार्थीहरूका लागि ‘अपि शिक्षा परियोजना’ अन्तर्गत छात्रवृत्ति दिने भएको छ।

यो छात्रवृत्ति कार्यक्रमअन्तर्गत २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी भएका १ जना छात्र र १ जना छात्रालाई कक्षा ११ देखि स्नातक तहसम्मको अध्ययनका लागि पूर्ण आवाशीय छात्रवृत्ति प्रदान गरिनेछ। छात्रवृत्तिमा मानविकी तथा आर्ट्स संकायमा अध्ययन गर्ने विद्यार्थीहरूलाई प्राथमिकता दिइने कलेज प्रशासनले जनाएको छ।

Seti Hospital

छात्रवृत्ति कार्यक्रम अक्सफोर्ड, इंग्ल्यान्ड निवासी वाल्टर्स दम्पतीद्वारा प्रायोजित गरिएको हो। ती दम्पतीले हालै एसपीए कलेजमा तीन महिनासम्म नाटक प्रशिक्षकका रूपमा स्वयंसेवक सेवा दिएका थिए। साथै, उनीहरूले सुदूरपश्चिमको अपि हिमाल आधार शिविर यात्रा गरेपछि यहाँका ग्रामीण विद्यार्थीहरूको क्षमता, सङ्घर्ष र सपना देखेर प्रभावित भई यो छात्रवृत्ति कार्यक्रम सुरु गरेका हुन्।

‘अपि शिक्षा परियोजना’अन्तर्गत सञ्चालन गरिने यो छात्रवृत्ति कार्यक्रम ६ वर्षसम्म निरन्तर सञ्चालन हुने र उक्त छात्रवृत्तिमा सहभागी हुन इच्छुक विद्यार्थीहरूले २०८२ साल असार १५ गते भित्र आवेदन फाराम बुझाइ सक्नुपर्नेछ।

सो कार्यक्रममा बोल्दै एसपीए कलेजकी विदेश विभाग प्रमुख अपर्णा गुप्ताले यो छात्रवृत्ति कार्यक्रम छ वर्षसम्म दुई जना विद्यार्थीलाई प्रदान गरिने जानकारी दिइन् । यद्यपि छात्रवृत्ति निरन्तर पाउनका लागि उनीहरूको प्रदर्शन उत्कृष्ट हुनु अनिवार्य हुने प्रावधान राखिएको छ। साथै, उत्कृष्ट प्रदर्शन गरेपछि उनीहरूलाई इंग्ल्यान्ड जाने अवसर समेत प्राप्त हुने उनले बताइन्।

उनका अनुसार यो केवल छात्रवृत्ति मात्र नभई ‘अपि शिक्षा परियोजना’मा छनौट भएका विद्यार्थीहरूले खानपान, बसोबास, पोसाक, ट्युसन फी लगायत अध्ययनका लागि आवश्यक सम्पूर्ण सामग्रीहरूको सुविधा पाउने छन्। “एसपीए कलेजलाई मात्र होइन, सम्पूर्ण सुदूरपश्चिम प्रदेशलाई नै शिक्षा क्षेत्रमा यो एक सुनौलो उपहार भएकोमा कृश वाल्टर्स र उहाँको परिवारप्रति हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु,” उनले भनिन्।

यस्तै, एसपीए कलेजका क्याम्पस प्रमुख योगराज गौतमले सिकाइका विविध आयामहरू अभ्यासमा ल्याइरहेको कलेजले कृश वाल्टर्स दम्पतीको सहकार्यमा सुरु गरेको यो कार्यक्रम निकै नवीन प्रयास भएको बताए। उनले भने, “विद्यार्थीहरूमा लुकेका विविध प्रतिभाहरूको पहिचान गर्दै हामी खेलकुद, कला, प्रविधि लगायतका क्षेत्रहरूमा छात्रवृत्ति प्रदान गर्दै आएका छौँ। सोही प्रयासमा आजबाट अपि शिक्षा परियोजना थपिएको जानकारी दिन पाउँदा हर्षित छु।” साथै, उनले सम्पूर्ण विद्यार्थीहरूलाई सो अवसरको भरपुर फाइदा लिन आग्रह गरे।

अपि शिक्षा परियोजनामा सहभागी हुनका लागि आजकै मितिबाट आवेदन खुला गरिएको जानकारी दिइएको छ। छनौट प्रक्रिया पाँच चरणमा हुनेछ भने पहिलो चरणको रूपमा गुगल फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, परियोजनाको छनौट समितिमा बझाङबाट लामो समयदेखि पर्यटन तथा वातावरणको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार बसन्त प्रताप सिंह पनि एक्टर्नल सदस्यको रूपमा सहभागी छन्।

एसपीए कलेज सुदूरपश्चिम क्षेत्रको पहिलो एमएसटी स्मार्ट विद्यालय हो, जसले शिक्षासँगै खेलकुद, संस्कृति, वातावरण संरक्षण, महिला सशक्तीकरण र सामुदायिक सेवामा विशेष जोड दिँदै आएको छ। ग्रामीण भेगमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूको शिक्षाको सपना पुरा गर्न यो छात्रवृत्ति कार्यक्रम एक महत्त्वपूर्ण अवसर साबित हुन सक्ने विश्वास कलेजले लिएको छ।

आइतबार सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कलेजकी प्लस टु संयोजक उषा शाहुले गरेकी थिइन्। कार्यक्रममा कैलालीको धनगढी, गोदावरी तथा कञ्चनपुरको बेलौरी र पुनर्वास क्षेत्रका विभिन्न विद्यालयका शिक्षक, प्रधानाध्यापक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार