धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय भ्रमण टोली भारततर्फ प्रस्थान गरेको छ । भारत सरकारको निमन्त्रणामा मंगलबार टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौबाट एक साताका लागि भारत भ्रमणमा गएको हो । दुबै देशको तर्फबाट मुख्यमन्त्री स्तरिय औपचारिक विदेश भ्रमण पहिलो पटक हुन गइरहेको छ । बैशाख १६ गतेदेखि २२ गतेसम्मको भ्रमणको समय तालिका रहको छ ।
भारत भ्रमण जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलन, उर्जा, पर्यटन, कृषि लगायतका विषयमा छलफल हुने बताए । टोलीले भारतको दिल्ली, देहरादुन, अयोध्या र लखनउ लगायतका ठाउँको भ्रमण गर्नेछ ।
पहिलो दिन भ्रमण टोली काठमाडौँबाट हवाईमार्ग भएर दिल्ली जानेछ, दोस्रो दिल्लीमा संघीय मन्त्रीसँगको भेटघाट, विवेकानन्द अन्तराष्ट्रिय फाउण्डेसन सँग अन्तरक्रिया रहेको छ । टोलीले भारतिय कृषि अनुसन्धान संस्थाको भ्रमण, अयोध्याको धार्मिक पर्यटकिय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्र सहित पर्यटकिय क्षेत्रको भ्रमण, उत्तरखण्ड मुख्यमन्त्री तथा कृषिमन्त्रीसँगको भेट पश्चात लखनउबाट स्थलमार्ग हुँदै कैलाली आउने कार्यक्रम तय भएको छ ।
भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट भ्रमण टोलीमा रहेका छन ।
प्रतिक्रिया दनुहोस्