अत्तरिया : कैलालीको अत्तरियामा निर्माण गरिएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) अन्तरगतको आर्थिक कोरिडोर कार्यालय डडेल्धुराले निर्माण गरेको उक्त भवन सोमबार गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
सोमबार एक औपचारीक कार्यक्रमका बिच भवन नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । रिड आयोजनाका निर्देशक चन्द्र प्रसाद रिसालको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा उपप्रमुख शारदा रोकाया रहेकी थिईन । कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले नगरपालिकामा बढी जसो कृषि काम गर्ने किसानहरु रहेकाले भवन निर्माणले किसानहरुका काम कारबाहीमा सहजता ल्याउने बताए । उनले नगरपालिका किसानहरुको हकमा निरन्तर लागिरहेको बताए । उनले किसानहरुको परिचय पत्र वितरणमा पनि नगरपालिका सबै भन्दा अघि रहेको बताए ।
कार्यक्रममा बोल्दै उपप्रमुख शारदा देवी रोकायाले कृषि तथा पशुपंछीका क्षेत्रमा आवश्यक पर्ने परिक्षण गर्न अब सहज हुने बताईन । उनले नयाँ भवनबाट दिईने सेवाहरुमा नगरक्षेत्रका किसानहरुले भरपुर सेवा लिने विश्वास लिएको बताईन । कार्यक्रममा आयोजनाका निर्देशक रिसालले गोदावरीबासीका लागि सुविधासम्पन्न भवन निर्माण हुनु खुसीको क्षण भएको बताए । उनले उक्त भवन निर्माणमा २ करोड ७९ लाख भ्याट सहित लागेको बताए । उनका अनुसार सो रकमले भवन निर्माण सहित भवनमा आवश्यक पर्ने सम्पुर्ण उपकरणहरु पनि जडान गरिएको छ । उनले आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको कृषि र पशुपंछी क्षेत्रलाई अघि बढाउन आयोजनाले यस्ता कार्यहरु गर्दै आईरहेको बताए ।
विश्व बैंकको आर्थिक सहयोगमा कृषि तथा पशुपंक्षि विकास मन्त्रालय मार्फत सञ्चालनमा रहेको ग्रामीण तथा आर्थिक विकास आयोजना अन्तरगत सुदूरपश्चिमका १० वटा पालिकामा हाल भवन निर्माणको कार्यक्रम सञ्चालन रहेको छ । आयोजना अन्तरगत १० पालिकामा भवन बनिरहेका भएपनि हाल आयोजनाले १७ पालिकामा काम गरिरहेको छ । जसमा कैलालीको चुरे, गोदावरी, धनगढी, डोटीको जोरायल, डडेल्धुराको अजयमेरु, गन्यापधुरा, नवदुर्गा, आलिताल अमरगढी, बैतडीको सुर्नया, डिलासैनी, दोगडाकेदार, पाटन र दार्चुलाको दुहुँ, मालिकार्जुन, शैल्यशिखर र महाकाली रहेका छन ।
अत्तरियामा कृषि तथा पशुपन्छी सेवा केन्द्रको २०८० भाद्र १३ गते गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका थिए । उक्त भवन नगरपालिकाको वडा नम्बर १ को कार्यालय नजिकै निर्माण गरिएको छ । उक्त भवन २०८१ असार मसान्तसम्म निर्माण कार्य सक्ने गरी काठमाण्डौको सिनरजित विल्डर्स प्रालिसँग सम्झौता गरिएको थियो । केन्द्रमार्फत कृषि तथा पशुका कार्यक्रमहरू, बालीका कार्यक्रमहरू तथा किसानहरूसँग प्रत्यक्ष जोडिएका कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ ।
प्रतिक्रिया दनुहोस्