अत्तरिया : शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले गत चैत २० गतेबाट काठमाण्डौमा प्रदर्शन गरिरहेका छन् । सरकारसँग निरन्तर वार्ता भएपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेर सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारेर समेत आन्दोलन गरिरहेका छन ।
सो आन्दोलनलाई सघाउन कैलालीको गोदावरी नगरपालिकाभित्र शिक्षक कर्मचारीहरु पनि आन्दोलित भएका छन । नेपाल शिक्षक महासंघले केन्द्रमा थालेको आन्दोलनलाई सहयोग गर्ने हेतुले गोदावरी नगरभित्र रहेका विभिन्न विद्यालयका शिक्षक/शिक्षिका तथा कर्मचारीहरु आन्दोलित भएका हुन ।
नेपाल शिक्षक महासंघ गोदावरी नगरस्तरिय आन्दोलन परिचालन उपसमितिले आजबाट आन्दोलनको थालनी गरेको छ । जुन आन्दोलन माग पुरा नभएसम्म जारी रहने उपसमितिका संयोजक ललन प्रसाद चौबेले जानकारी दिए । उनले शिक्षकहरुसँग विगतदेखी भएका विभिन्न सम्झौताहरु कार्यान्वयन हुनुपर्ने बताए । उनले शिक्षकहरुका विगतका मागमा भएका सम्झौता कार्यान्वयन गर्नका लागि तथा पञ्चायती व्यवस्थामा बनेको शिक्षा ऐन २०२८ संसोधन गरी गणतान्त्रिक शिक्षा ऐन निर्माण गर्न र लागु गर्न आन्दोलन भैरहेको बताए ।
उनले सो आन्दोलनमा गोदावरी नगरपालिकाभित्रबाट प्रत्यक्ष रुपमा उपस्थित हुन नसकेका शिक्षक/शिक्षिका तथा विद्यालय कर्मचारीहरुले ऐक्यवद्धता जनाउनका आन्दोलनका कार्यक्रमहरु गरेको बताए । उनले माग पुरा नभएसम्म आन्दोलन जारी रहने समेत बताए । ‘कुनै पनि कुराहरु व्यवस्थीत गर्न ऐन कानुन चाहिन्छ, तर शिक्षा जस्तो महत्वपुर्ण विषयमा ऐन नआउनु भनेको दुःखद कुरा हो’ उनले भने ‘पछिल्लो समय देशमा थुप्रै कुराहरु परिवर्तन भैसकेका छन, धेरै कुराहरुमा संसोधन भैसकेको छ, तर देशको मेरुदण्डका रुपमा रहेको शिक्षा जस्तो महत्वपुर्ण विषयमा ऐन बनेको छैन, त्यसैले शिक्षालाई वेवास्ता गरिएको हुनाले यो आन्दोलन गरिएको हो ।’ उनले आफूहरुको केन्द्रिकृत आन्दोलन भएपनि केन्द्रमा जान नसकेकाहरुले केन्द्रलाई सघाउनका लागि यो आन्दोलन गरेको बताए ।
प्रत्येक दिन बिहान ८ बजेदेखी १० बजेसम्म आन्दोलन गरिने बताउदै उनले सरकारको गतिविधि हेरेर कार्यक्रम परिवर्तन गरिने बताए । उनले तत्काल शिक्षक कर्मचारी भएपनि आगामी दिनमा अभिभावकहरुलाई पनि आन्दोलनमा सरिक गराउने योजना बनिरहेको बताए ।
प्रतिक्रिया दनुहोस्