धनगढी : कैलालीको गोदावरी नगरपालिका–१ को अत्तरियामा मृत भेटिएका ३५ वर्षीय जगदीश कैनीको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुराको अमरगढी नगरपालिका–७ स्थायी घर भएका कैनीको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका पूर्व भगौडालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरिया क्षेत्रबाट पक्राउ गरेको हो । सशस्त्र प्रहरीका भगौडा रहेका ती व्यक्ति कैनीसँगै सडकपेटीमा बस्दै आएका थिए । कैनीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले माओवादीका पूर्व लडाकु समेत रहेका लामा थरमा पुरुषसहित तीन जना सडक पेटीमा बस्दै आएकाहरुलाई पक्राउ गरेको थियो ।
उनीहरु मध्ये शारीरीक अपांगता समेत रहेका लामाले आफूले कैनीको हत्या गरेको प्रहरीलाई बयान दिएका थिए तर उनको बयानअनुसार सबुत प्रमाण नमिलेपछि प्रहरीलाई तनाव भइरहेको थियो । त्यही बेला उनीहरुसँगै सडक पेटीमा बस्दै आएका सशस्त्रका भगौडा अत्तरिया क्षेत्रबाट भागेपछि प्रहरीको अनुसन्धान त्यसतर्फ मोडिएको थियो ।
अहिले पक्राउ परेका व्यक्तिले मृतकले आफ्नो झोला र पैँसा चोरेका कारण हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । हाल प्रहरी नियन्त्रणमा रहेका अर्का लामा थरका अभियुक्तले भने श्रीमतीलाई जिस्काउने, आपांग भनेर होच्याउने र पैँसा पनि चोर्ने गरेकाले ढुंगा प्रहार गरि हत्या गरेको बयान प्रहरीलाई दिएका थिए ।
बयानअनुसार प्रमाण नमिले प्रहरीले लामासहितका तीनै जनालाई सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको थियो । घटनाबारे विस्तृत जानकारी दिन इलाका प्रहरी कार्यालय मालाखेतीले बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दैछ ।
प्रतिक्रिया दनुहोस्