कैलाली : लामो समयदेखि चुनावी एजेण्डाको रूपमा चर्चामा रहेको चिसापानी-मंगलसेन सडक स्तरोन्नती योजना अन्ततः कार्यान्वयनको चरणमा पुगेको छ । कैलालीको लम्कीचुहा नगरपालिका-३ र मोहन्याल गाउँपालिका-७ भएर जाने यो १६ किलोमिटर सडक विस्तारका लागि आवश्यक वनसम्बन्धी प्रक्रिया सम्पन्न भएपछि अब निर्माण कार्यले गति लिने भएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको सक्रिय पहलमा राष्ट्रिय वन अन्तर्गत पर्ने ८.९२ हेक्टर जग्गा प्रयोग र सो क्षेत्रमा रहेका ४७२ वटा रुख गोल (काट्ने) अनुमति सम्बन्धी सहमति प्राप्त भएको छ । यसका लागि वन तथा वातावरण मन्त्रालय, वन तथा भू-संरक्षण विभाग, र सडक विभाग अन्तर्गतको भू-वातावरण तथा सामाजिक शाखाबीच औपचारिक सम्झौता सम्पन्न भएको हो ।
वन ऐन २०७६ को दफा ४२ उपदफा (१) बमोजिम नेपाल सरकारले २०८० मंसिर २४ गते निर्णय गर्दै उक्त वन क्षेत्र प्रयोग गर्न र रुख कटानी स्वीकृति दिएको थियो । त्यसको आधारमा डिभिजन वन कार्यालय, पहलमानपुरलाई आवश्यक निर्देशन पठाइएको छ भने सिंहदरबारस्थित सम्बन्धित मन्त्रालय तथा विभागहरूलाई जानकारी दिइएको छ ।
मुख्यमन्त्री शाहले यो सडकलाई प्रदेश गौरवको योजना का रूपमा अगाडि बढाउने स्पष्ट मन्तव्य दिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ मा मोहन्याल गाउँपालिका-७ स्थित बादेखोलामा मोटरपुल निर्माणका लागि रु. २१ करोड ७३ लाख, साघुरे खोलामा मोटरपुल निर्माणका लागि रु. १९ करोड ४४ लाख, र चिसापानी-सोल्टा सडक स्तरोन्नतीका लागि रु. १० करोड बजेट विनियोजन गरिएको जानकारी दिइएको छ ।
यसअघि संघीय सरकारले सडकको ७.२ किमी खण्डको ठेक्का स्वीकृत गरिसकेको भए पनि रुख कटानीको आदेश नआएकाले निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन । उक्त समस्यालाई समाधान गर्न मुख्यमन्त्री शाहले वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, सम्बन्धित सचिवहरू, विभागीय निर्देशक तथा डिभिजन प्रमुखहरूसँग बैठक गरी सहमति जुटाएका हुन् ।

प्रतिक्रिया दनुहोस्