अछाम : अछामको चौरपाटी गाउँपालिकाकी १२ बर्षिया बलात्कृत बालिकाको अवस्था झन जटिल बन्दै गएको छ । पेटमा करिब ८ महिनाभन्दा बढीको गर्भ रहेकी ती बालिकाको अवस्था जटिल बन्दै गएको हो ।
भारतको गुजरातमा मामा नाता पर्ने पुरुषबाटै बलात्कारको सिकार भएकी बालिका अहिले गम्भीर स्वास्थ्य जटिलताको सामना गरिरहेकी छिन् । उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको ‘ओसिएमसी’मा राखिएको छ ।
गत फागुन ११ गते अनलाइन नेपालले ‘अछामकी १२ वर्षीया बालिका बलात्कृत, ५ महिनाको गर्भ रहेको खुलेपछि घटना बाहिरियो’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो । त्यसपछि विभिन्न राष्ट्रिय सञ्चार माध्यमदेखि संसदमा पनि ती बालिकाको न्यायका लागि आवाज उठेको थियो ।
तर घटना बाहिरिएको एक महिनाभन्दा बढी हुँदा पनि आरोपित फरारै अवस्थामा छन् भने किशोरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो । परिवारका सदस्य न्यायका लागि भौतारिरहेका छन् ।
अछामको ग्रामीण भेगकी ती बालिका रोजगारी गर्न भारत पसेका आमा बुवासँगै गएकी थिइन् । तर उनी त्यहीँ मामा नाता पर्ने पुरुषबाटै बलात्कृत भइन् । उनीमाथि त्यहाँ धम्की दिएर पटक-पटक बलात्कार भएको बालिका नै बताउँछिन् ।
आफूमाथि पटक–पटक बलात्कार हुँदा पनि डर र धम्कीका कारण बालिकाले परिवारलाई घटनाबारे भन्न सकेकी थिइनन् । त्यस लगत्तै बालिकाका आमाबुवा घर फर्किएका थिए । घरमा ती बालिकाको अस्वाभाविक रूपमा पेट बढ्न थाल्यो ।
सुरुमा परिवारका सदस्यले भारतबाट फर्किएका कारण स्वास्थ्यमा परिर्वतन आएको हुनसक्छ भन्दै खासै चासो राखेनन् । पछि झनझन पेट र शरिरको बनावट परिवर्तन हुन थालेपछि परिवारका सदस्यले उनको स्वास्थ्य जाँचका लागि बयालपाटा अस्पतालमा लगे ।
पिसाब जाँच गरेपछि ती बालिकाको पेटमामा २५ हप्ताभन्दा बढी समयको गर्भ रहेको रिपार्ट अस्पतालले आफन्तको हातमा थमायो । त्यसपछि बयालपाटा अस्पतालले बालिकालाई जिल्ला अस्पताल अछाम रेफर गर्यो ।
उनको गर्भ रहेको समय धेरै भइसकेको भन्दै थप उपचारका लागि जिल्ला अस्पतालले पनि धनगढीको सेती प्रादेशिक अस्पताल पठायो । उक्त अस्पतालले पनि गर्भपतन गर्न मिल्दैन भनेपछि आफन्तहरु समस्या परेका थिए । अहिले बच्चा जन्माउने समय पुगेका कारण गर्भवती बालिकाको स्वास्थ्य अवस्थामा जटिलता रहेको छ ।
यता बालिकाका परिवार न्याय खोजिरहेका छन् । आफूहरुले जिल्ला प्रहरी कार्यालय अछाममा जबरजस्ती करणी मुद्धा दर्ता गराए पनि अहिलेसम्म आरोपित पक्राउ पर्न नसकेको पीडित बालिकाका एकजना आफन्तले गुनासो गरे ।
प्रतिक्रिया दनुहोस्