काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले होली पर्वलाई रङहरूको मात्र नभई विविधता, एकता र राष्ट्रिय सद्भावको प्रतीकका रूपमा व्याख्या गरेका छन् । उनले चाडपर्वहरूले समुदायबीचको आत्मीयता बढाउने विश्वास व्यक्त गर्दै नेपालीहरूलाई फागु पूर्णिमाको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीका अनुसार नेपालमा विभिन्न जातजाति र धर्मावलम्बीका मौलिक परम्परा तथा सांस्कृतिक चाडपर्वहरू रहेका छन्, जसले समाजलाई नजिक ल्याउन महत्वपूर्ण भूमिका खेल्छन् । हिमाली तथा पहाडी क्षेत्रमा आज र तराई-मधेशमा भोलि मनाइने होली पर्वले नेपाली समाजको बहुसांस्कृतिक सौन्दर्य झल्काउने उनले उल्लेख गरे ।
‘रङहरूको पर्वका रूपमा स्थापित होली विविध जाति, भाषा, भूगोल र संस्कृतिको समायोजनको प्रतीक हो । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हो,’ प्रधानमन्त्री ओलीले भने ।
उनले हरेक समुदायका मौलिक परम्परा, भाषा तथा संस्कृतिको सम्मान, संरक्षण र प्रवर्द्धन गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै होलीजस्तो चाडपर्वहरूले आपसी सद्भावलाई अझ बलियो बनाउने बताए । साथै, फरक जाति र समुदायबीच आपसी सम्मान र सहअस्तित्वलाई प्रवर्द्धन गर्ने अवसरको रूपमा होली पर्वलाई लिनुपर्ने उनको धारणा थियो ।
यस अवसरमा, प्रधानमन्त्री ओलीले नेपाल भित्र र बाहिर रहेका सबै नेपालीहरूलाई पुनः हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दनुहोस्