काठमाडौँ : आइसिसी महिला यू–१९ महिला विश्वकप क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । शुक्रबार आयोजक मलेसियालाई ७ विकेट हराउदै नेपालले पहिलो जित निकालेको हो ।
मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कप्तान पूजा महतोले ३२ बलमा चार चौकासहित सर्वाधिक २३ रन बनाइन् । उनी नटआउट रहिन् ।
मलेसियाका लागि बलिङमा मार्सियाले चार ओभरमा १८ रन दिएर तीन विकेट लिइन् । त्यसअघि जोहर क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङको मौका पाएको मलेसिया १६.५ ओभरमा ४५ रनमा अलआउट भयो । उसका लागि नुरिमनले सर्वाधिक १५ रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
आयोजक मलेसियालाई सस्तैमा समेट्ने क्रममा कप्तान पूजा महतोले घातक बलिङ गरिन् । उनले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । योसँगै पूजा जारी विश्वकपमा सर्वाधिक विकेट लिने सूचीको नम्बर वानमा उक्लिएकी छन् । उनले चार खेलमा ९ विकेट लिएकी छन् ।
यस्तै, मलेसियाविरुद्ध रचना चौधरीले तीन ओभरमा एक मेडनसहित ५ रन दिएर तीन विकेट लिइन् । समूह चरणमा नेपालले तीनवटै खेलमा हार बेहोरेको थियो । नेपालले समूह चरणमा बंगलादेशसँग ५ विकेट, स्कटल्याण्डविरुद्ध एक विकेट तथा अस्ट्रेलियासँग ८३ रनको हार बेहोरेको हो ।
प्रतिक्रिया दनुहोस्