धनगढी : नेपाल आयल निगमले सुदूरपश्चिममा इन्धन वितरण गर्ने धनगढीस्थित प्रादेशिक कार्यालय स्थानान्तरण प्रक्रिया सुरु गरेको छ । डिपोलाई नयाँ ठाउँमा सार्नका लागि जग्गा प्राप्ति प्रक्रिया थालिएको हो ।
निगमको भण्डारण क्षमता वृद्धि परियोजना प्रमुख प्रदीप यादवले सरकारी जग्गा खोजी गरे पनि नपाएपछि निजी जग्गा किन्न लागेको जानकारी दिए । उनका अनुसार नयाँ डिपोका लागि २० बिघाभन्दा बढी जग्गा आवश्यक छ । पत्रकार सम्मेलनमा उनले भने, ‘कैलालीको गोदावरी नगरपालिका– ८, अत्तरिया क्षेत्रमा जग्गा पनि भेटिएको छ । खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाउन लागिएको छ ।’
प्रमुख जिल्ला अधिकारी संयोजकत्वको जग्गा प्राप्तिसम्बन्धी समितिमार्फत खरिद गर्न लागिएको र विवाद नहुने गरी काम गर्ने यादवले बताए । ‘निगम सञ्चालक समिति र मन्त्रिपरिषद्बाट स्वीकृत गराई जग्गा किन्नेछौँ,’ उनले भने । बाक्लो बस्तीमा रहेको धनगढीको डिपो साँघुरो पनि छ ।
प्रतिक्रिया दनुहोस्