धनगढी: कञ्चनपुरमा युवाहरूलाई लक्षित गर्दै ‘Youth Careers of Hospitality Management’ ले आतिथ्य तथा सेवा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यावसायिक तालिम सञ्चालन गर्ने भएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त संस्थाले अब गुणस्तरीय तालिम लिन काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको जनाएको छ।

संस्थाले बरिस्टा, व्यवसायिक पाककला, फुड एण्ड बेभरेज सर्भिस तथा केयरगिभर तालिम सञ्चालन गर्न लागेको हो। तालिम उद्योगमुखी र व्यावहारिक हुने संस्थाले जनाएको छ। अनुभवी प्रशिक्षकमार्फत आधुनिक प्रविधि र उपकरण प्रयोग गरी प्रशिक्षण दिइनेछ भने व्यक्तित्व विकास तथा सञ्चार सीपमा पनि विशेष जोड दिइने बताइएको छ।
साथै, प्रतिष्ठित होटल, रेष्टुरेन्ट तथा सेवा क्षेत्रमा ६ महिनाको इन्टर्नसिपको व्यवस्था गरिएको छ। संस्थाका अनुसार इन्टर्नसिपपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रोजगारीको अवसरसमेत उपलब्ध गराइनेछ। होटल तथा रिसोर्ट, क्याफे, एयरलाइन्स, विमानस्थल, इभेन्ट व्यवस्थापन कम्पनी, अस्पताल तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्रलगायत क्षेत्रमा दक्ष जनशक्तिको माग बढ्दो रहेको जनाइएको छ।

विशेषगरी केयरगिभर तालिमअन्तर्गत बिरामी तथा ज्येष्ठ नागरिक हेरचाह, व्यक्तिगत सरसफाइ, प्राथमिक उपचार, आपतकालीन व्यवस्थापन तथा सहानुभूतिमूलक सेवासम्बन्धी प्रशिक्षण दिइनेछ। बरिस्टा तालिममार्फत कफी बनाउने कला र व्यवसायिक सेवा सीप सिकाइने संस्थाले जनाएको छ।
संस्थाले सीमित सिट रहेको भन्दै इच्छुक युवालाई समयमै भर्ना हुन आग्रह गरेको छ। ‘आजको सीप, भोलिको सफलता’ भन्ने नारासहित सञ्चालन हुन लागेको तालिमले युवालाई आत्मनिर्भर बनाउने विश्वास लिइएको छ।




प्रतिक्रिया दिनुहोस्