काठमाडौं : शिक्षा ऐन जारी नभएपछि निरन्तर आन्दोलनमा रहेका शिक्षकहरु नरोकिने भएका छन्। शिक्षक महासंघले आन्दोलनलाई शनिबार पनि निरन्तरता दिने भएको हो। जबकि, शुक्रबार राती प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग महासंघ नेताको वार्ता भएको थियो।
आन्दोलनको नेतृत्व गरिरहेको शिक्षक महासंघका नेताहरु शुक्रबार मध्यरातिसम्म छलफलमा व्यस्त थिए ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी बालुवाटारस्थित प्रधानमन्त्री निवास गएका थिए । शुक्रबार राति पौने ८ बजे प्रधानमन्त्री निवास प्रवेश गरेका उनीहरू सवा ११ बजे बाहिरिएका थिए ।
छलफलमा प्रधानमन्त्री ओलीले शिक्षा ऐन प्रक्रियामार्फत् जतिसक्दो छिटो जारी गर्ने प्रतिबद्धता गरे। तर महासंघ आश्वस्त देखिएन।
प्रधानमन्त्री ओलीले शिक्षा समितिका सांसद, शिक्षा मन्त्री र सत्तारूढ दलसँग छलफल गरेर टुंगो लगाउने आश्वासन दिएका थिए ।
प्रधानमन्त्री ओलीको भनाइमा शिक्षक महासंघका नेताहरु आश्वस्त हुन सकेनन्। त्यसपछि उनीहरु राति नै सभामुख देवराज घिमिरेलाई पनि भेट्न गएका थिए।
शिक्षक महासंघका नेताहरु सभामुखको निवास पुग्दा राति पौने १२ बजेको थियो। सभामुखले विषयगत समितिले चाँडो ल्याउन बारम्बार आफूले भनेको बताएका थिए।
सरकारले वैशाख १२ गतेदेखि सुरु हुन लागेको बजेट अधिवेशनबाटै शिक्षा ऐन जारी गर्ने भन्दै शिक्षक महासंघलाई आन्दोलन अन्त्य गरेर विद्यालय फर्किन भनेको थियो। तर सभामुख घिमिरेले कहिले कोरम नपुग्ने र कहिले बैठक नबस्ने गर्दा यही अवस्थामा बजेट अधिवेशनबाट शिक्षा ऐन जारी नहुने अभिव्यक्ति दिएका थिए। सभामुख घिमिरेले शुक्रबार राति शिक्षक महासंघका नेताहरुसँग पनि सोही कुरा प्रष्ट्याएका थिए।
देशभरका सरकारी स्कुलका शिक्षक तथा कर्मचारीहरु २० चैतदेखि सडक आन्दोलनमा छन्। उनीहरुले २५ चैतदेखि शैक्षिक हड्ताल समेत घोषणा गरेर आन्दोलन जारी राखेका छन्। उनीहरुको आन्दोलनका कारण वैशाख २ गतेदेखि सुरु भएको विद्यालय भर्ना अभियान, पाठ्यपुस्तक वितरण, एसईईको उत्तरपुस्तिका परीक्षण लगायत सम्पूर्ण शैक्षिक गतिविधि प्रभावित भएको छ।
प्रतिक्रिया दनुहोस्