धनगढी । मंसिर २२ गतेदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको रौनक धनगढीमा अत्याधिक छ । हरेक वर्ष विशेष उत्सवका साथ मनाइने सुदूरपश्चिम महोत्सव यसपालि धनगढी १ पशुपति टोलमा विशेष रुपमा मनाइँदै छ ।
महोत्सवले धनगढी मात्र नभएर सुदूरपश्चिम र छिमेकी मुलुक भारतको सीमा आसपासको व्यापार बढाएको छ ।
त्यसैमाथि बालबालिकाले अत्याधिक रुचाउने कटन क्यान्डीको व्यापार पनि महोत्सवमा अत्याधिक छ । महोत्सव क्षेत्रभित्र प्रवेश गर्दैगर्दादेखि महोत्सव हाताभित्र पनि कटन क्यान्डी बेच्नेहरु थुप्रै छन् ।
तर मानव स्वास्थ्यका लागि निकै हानिकारक रहेको कटन क्यान्डीको खुलेयाम बिक्री हुँदा पनि सम्बन्धित निकाय भने बेखबर झैँ बनेको छ । त्यसो त केही समय अगाडी कटन क्यान्डीमा क्यान्सस हुन सक्ने केमिकल मिसाउने गरेको पाइएपछि स्थानीय तहहरुले कटन क्यान्डीको बिक्रीमा प्रतिबन्ध लगाइसकेका छन् ।
खाद्य गुणस्तर जाँच गर्ने क्रममा कटन क्यान्डीमा कपडा उद्योगमा प्रयोग हुने रोडोमाइन बी केमिकल प्रयोग हुने गरेको पाइएको थियो । जुन केमिकलको प्रयोगबाट मानव शरिरमा क्यान्सरसमेत हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।
उता भारतको केही राज्यहरुमा पनि कटन क्यान्डीको बिक्रीमा प्रतिबन्ध लगाइएको छ । तर सुदूरपश्चिम महोत्सवमा भने कटन क्यान्डीको खुलेयाम बिक्री वितरण भइरहेको छ ।
महोत्सव छिर्नुभन्दा अगाडि र छिर्ने बित्तिकै केटाकेटीहरु कटन क्यान्डीको पसलमा झुम्मिने गर्छन् ।
प्रति प्याकेट ५० रुपैयाँ पर्ने उक्त कटन क्यान्डी खाँदा स्वादिलो भए पनि दीर्घकालीन रुपमा मानव स्वास्थ्यका लागि निकै घातक छ । हजारौँको संख्यामा मानिसहरुको उपस्थिति हुने महोत्सवमा मानव स्वास्थ्यकै लागि हानिकारण वस्तुको खुलेयाम बिक्रीप्रति आयोजक, धनगढी उपमहानगरपालिका र सम्बन्धित निकायले एक्सन लिन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्