धनगढी : नवजीवन सहकारी अत्तरिया शाखाको एकाईगत साधारण सभा सम्पन्न भएको छ । सोमबार सहकारीको ३१ औं एकाइगत साधारण सभा सम्पन्न भएको हो । सहकारीका अध्यक्ष देव बहादुर बमको सभापतित्वमा भएको एकाईगत साधारण सभाका प्रमुख अतिथि प्रदेश सभा सदस्य तुलसी देवकोटा रहेकी थिइन् ।
उद्घाटन सत्रमा बोल्दै देवकोटाले सुदूरपश्चिम सरकार सहकारीका ऐन कानुन समय सान्दिर्भिक बनाउनको लागि छलफल गरिरहेको बताइन् । उनले ऐन कानुनले कुनै त्रुटी, सुधार गर्नुपर्ने भएमा सुझाव दिन आग्रह गरिन् ।
सहकारीका अध्यक्ष बमले सहकारी उत्पादनका काममा पनि लागेको बताए । उनले सहकारीले चामल प्रसोधन उद्योग सञ्चालनको तयारी गरेको बताए । उनले मजगाउँमा उद्योगको मंसिर ३० गते उद्घाटन गर्न लागिएको बताए । उनले नवजीवन सहकारी सहकारी ऐन नियम अनुसार चलेकाले बचतकर्तालाई ढुक्क भएर कारोबार गर्न आग्रह गरे ।
सहकारीमा हाल ३४ हजार ३९५ सेयर सदस्य रहेका छन । सहकारीको सेयर पुजी हाल ६२ करोड ५ लाख पुगेको छ । सहकारी संस्थाले २०८१ असार मसान्त सम्म ५ अर्ब १ करोड ९० लाख ५ हजार निक्षेप संकलन गरेको सहकारीको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सहकारीमा हाल ३३.४५ प्रतिशत तरलता रहेको जनाइएको छ । जुन १ अर्व ७६ करोड ९६ लाख ६७ हजार हुन आउन्छ । सहकारीले हाल ४ अर्व ४ करोड ५२ लाख ४३ हजार कर्जा लगानी गरेको छ । सहकारीले आर्थिक वर्ष २०८०÷०८१ मा १६ करोड ४१ लाख ६ हजार नाफा गरेको छ ।
सहकारीले सुदूरपश्चिम र लुम्विनी प्रदेशमा गरी १० वटा सेवा केन्द्र, लघुवित्त कार्यक्रम र कुटानी पिसानी गर्ने मिलसहितको कृषि उपआयोजना सञ्चालन गरिरहको छ ।
सहकारीले एकाईगत साधारण सभाको अवसरमा उत्कृष्ट ३ जना कारोबारीलाई सम्मान गरेको थियो । जसमा सहकारीले सहकारीबाट ऋण लिएर कृषि व्यवसाय गर्दै आएका कञ्चनपुरको कृष्णपुरका नारायण डगौरा, कैलालीको अत्तरियामा व्यवसाय गर्दै आएका बाबुराम कडेल र गोदावरीको ओलानीमा सिलाई कटाइ पसल सञ्चालन गर्दै आएकी सिता देवी कामी रहेकी छिन ।
प्रतिक्रिया दिनुहोस्