काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से)मा आज (बुधबार) पनि झिनो गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १.८८ अंकले घटेर २ हजार ६७५.५१ विन्दुमा झरेको छ । मंगलबार बजार ०.२१ अंकले घटेको थियो ।
आज ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने १.८८ विन्दुले घटेर ४७७.१८ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ । यो दिन कूल २४४ कम्पनीको १ करोड १६ लाख कित्ता सेयर किनबेचबाट ५ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको हो । मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयरको मूल्य बढेको छ भने आठ उपसमूहको शेयरको मूल्य भने घटेको छ । क्याुचुअल फण्ड समूहमा सबैभन्दा धेरै १.०९ प्रतिशत वृद्धि हुँदा होटल तथा पर्यटन क्षेत्रमा सबैभन्दा ०.७५ प्रतिशतले गिरावट आएको छ ।
आज बजारमा नारायणी विकास बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बलेफी हाइड्रेपावर र पिपुल्स हाइड्रोपावरको सेयरमूल्य समेत ९ प्रतिशत भन्दा धेरैले बढ्दा कुथेली भुकारी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।
आज बजारमा नेपाल फाइनान्सको सेयरको सबैभन्दा धेरै ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो । कारोबार संख्याको आधारमा समेत सोही कम्पनी अगाडी हुँदा कारोबार भएको स्क्रिपको संख्यामा भने सानिमा ग्रोथ फण्ड अगाडि रह्यो ।
प्रतिक्रिया दिनुहोस्