नाइरोबी फ्लाई के हो ? यसको संक्रमणबाट कसरी जोगिने ? (अन्तरवार्ता)

भक्तराज जोशी

कैलाली । नाइरोबी किराको आतंकले अहिले तराई जिल्लाका नागरिक तनाबमा छन् । वर्षायाम सुरु भएसँगै सुरु भएको यो किराको आतंक देशभर फैलिँदो छ । यसैबीच कैलालीका अस्पतालहरुमा पनि नाइरोबी किराका कारण संक्रमण व्यहोरोका बिरामीको चाप बढेको छ । नाइरोबी किराको बढ्दो त्रास र आतंककाबीच हामीले सेती प्रादेशिक अस्पतालका छाला तथा यौन रोग विभाग प्रमुख डा. शम्भुदत्त जोशीसँग यो किराको आतंक र बच्ने उपायका बारेमा कुराकानी गरेका छौँः

नाइरोबी फ्लाई कस्तो खालको किरा हो ?
यो बिटल जातीको किरा हो । खासगरी यो किरा वर्षायाममा बढी देखिने गर्छ । पानी परेपछि ओसिलो ठाउँ खोज्दै यो बिटल जातीको नाइरोबी फ्लाई किरा बत्ति बलेको ठाउँमा जान्छ । जब यो मान्छेको शरीरमा बस्छ, यो फिमेल नाइरोबी फ्लाई किराले आफुसँग भएको एसिडिक पदार्थ छोड्छ । जसले गर्दा मान्छेको छालामा संक्रमण हुन पुग्छ । सुरुमा छाला रातो हुन्छ, दोस्रो चरणमा पानीका फोका देखिन्छन्, तस्रो चरणमा पीपका दानाहरु देखिन्छन् र चौथो चरणमा छालामा घाउ देखिने, चिरा देखिने र खाल्डो पर्ने हुन्छ ।

Dengue

नाइरोबी किराका कारण संक्रमण भएका बिरामीको चाप कस्तो छ ?
आइरहेका छन्, अहिले सेती प्रादेशिक अस्पतालको ओपिडीमा आउने ३० देखि ४० प्रतिशत बिरामी नाइरोबी किराकै कारण संक्रमण भएर आउने गरेका छन् । जसमध्ये सानासाना बालबालिका, वयस्क, युवा, वृद्ध सबै खाले बिरामीहरु आउने गरेका छन् ।

यो किराको रियाक्सनचाहिँ छालामा कसरी हुन्छ ?
नाइरोबी फ्लाई किरामा पाइने एसिडिक पदार्थ किराले आफ्नो सुरक्षा तथा डिफेन्सका लागि प्राकृतिक रुपमा पाएको हतियार हो । जब त्यो एसिडिक पदार्थ हाम्रो छालामा पर्छ, त्यसपछि त्यसले हाम्रो शरीरमा भएको प्रोटिनलाई गलाउँछ र संक्रमण फैलिन थाल्छ । तर, तुरुन्तै पुछ्यौँ, धोयौँ वा पखाल्यौँ भने चाहिँ धेरै रियाक्सन हुन पाउँदैन ।

यो किराको प्रकोपबाट जोगिन के गर्ने ?
सबैभन्दा पहिला, यदी तपाईं यात्रा गर्दै हुनुहुन्छ भने र वर्षायामको समय छ भने पूरा बाउला भएको उज्यालो कपडाहरु लगाउनुपर्छ । ओछ्यानमा प्रयोग हुने तन्नाहरु पनि सफा र उज्यालो खालको प्रयोग गर्ने, बिहान बेलुका बिस्तारा राम्रोसँग सफा गर्ने, सकेसम्म राती मोबाइल नचलाउने, रातीको समयमा भित्रको बत्ति सकेसम्म प्रयोग नगर्ने र नाइरोबी किरा देख्नुभयो भने हातले नछोई कागज वा अन्य कुनै वस्तु प्रयोग गरेर शरीरको सम्पर्कमा नआउनेगरी मार्नुपर्छ । यदी यो किराको सम्पर्कमा आउनुभयो भने साधारण साबुन पानीले राम्रोसँग शरीर पखाल्नुपर्छ र संक्रमण देखिएको अवस्थामा नजिकको स्वास्थ्यचौकीमा जानुपर्छ ।

यो किराको संक्रमण कति दिनमा निको हुन्छ ?
ठ्याक्कै यति नै भन्ने हुँदैन । बढीमा २ हप्तामा घाउ सन्चो हुन्छ तर दागचाहिँ लामो समयसम्म रहिरहन्छ । कसैको ४ महिनासम्म रहन्छ भने कसैको ६ देखि ७ महिनासम्म पनि दाग रहन्छ । तर यस्तो दाग दीर्घकालीन हुँदैन, पछि आफै हराएर जान्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार