लगातारको झरीका कारण अहिले देशभर बाढीको वितण्डा छ । नागकिका घरघरमा बाढी पसेको छ भने सयौँ परिवार विस्थापित भएका छन् । अझ हरेक बर्खायाममा बाढी र पहिरोका कारण दुखिरहने सुदूरपश्चिम प्रदेश यसपाली पनि बाढी र पहिरोको चपेटामा परेको छ ।
सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण सदुरपश्चिमका थुप्रै ठाउँहरु डुबानमा परेका छन् । तराईमा सयौँ परिवार घरबारविहीन भएका छन् भने पहाडी जिल्लामा पहिरो आतंक कायमै छ ।
अझ कैलालीको चुरे क्षेत्रमा पर्ने भीमदत्त राजमार्ग नै पहिरोका कारण भासिएपछि आवतजावत नै ठप्प बनेको छ । बर्षौं पुरानो राजमार्ग नै चिरा परेपछि अहिले चुरे क्षेत्रका नागरिकहरु त्रसित बनेका छन् । पहिरोकै कारण बुढीतोला क्षेत्रमा झण्डै १ दर्जन घरहरु पूर्णरुपमा ध्वस्त भएका छन् भने नागरिकहरुको बिचल्ली भएको छ । राती सुतैकै बेला अचानक पहिरो गएर घरबार नै बगाएपछि अहिले चुरेबासी थप मर्कामा परेका छन् ।
पहिरोका कारण गोदावरी नगरपालिका ४ बुढीतोला क्षेत्रमा भासिएको सडक मर्मतको काम जारी रहेको छ । तर उक्त सडक पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक साता लाग्ने साईटका सब इन्जिनियरले बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको सात जिल्ला जोड्न एउटै राजमार्ग भिमदत्त राजमार्ग नै पहिरोका कारण भासिएपछि यात्रुहरु अलपत्र परेका छन् । सडक र यात्रुसँगै चुरे क्षेत्रका स्थानीय पहिरोको थप जोखिमका कारण रातभर जागराम बस्न बाध्य छन् । पहिरो प्रभावित क्षेत्रमा मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहितको टोलीले अनगुमन गरे पनि यथोचित पहल भने अझै हुन सकेको छैन । यसतर्फ प्रदेश सरकार गम्भीर हुन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्