एकदिवसीय विश्वकप ग्लोबल छनोटमा नेपाल आठौँ स्थानमा रह्यो । हरारेमा सातौँ र आठौँ स्थानका लागि मंगलबार भएको खेलमा नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित भयो । हारसँगै नेपालले एकदिवसीय ग्लोबल छनोटमा आठौँ स्थानमा रही यात्रा टुंग्याएको हो । टेस्ट राष्ट्र आयरल्यान्ड सातौँ स्थानमा रहेको छ । विश्वकप छनोटमा नेपालले समूह ‘ए’मा चार खेलमा तीन हार र एक जित निकालेको थियो । समूह चरणमा नेपालले अमेरिकालाई मात्र ६ विकेटले हराएको थियो । नेपाल जिम्बावेसँग आठ विकेट, वेस्ट इन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो ।
पहिलो ब्याटिङ गरेको नेपालले ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ६८ रनको चुनौतीपूर्ण योगफल खडा गर्यो । प्रत्युत्तरमा आयरल्यान्डले ४९।२ ओभरमा आठ विकेट गुमाएर दुई सय ६९ रन बनायो । आयरल्यान्डलाई अन्तिम ओभरमा पाँच रन आवश्यक थियो । नेपालका लागि अन्तिम ओभरमा गुल्सन झाले बलिङ गरेका थिए । इनिङ्सको ४९।१ ओभरमा डेलानीले एक रन लिए । ४९।२ ओभरमा म्याकक्याथीले चौका प्रहार गर्दै आयरल्यान्डलाई दुई विकेटको जित दिलाए । खेलमा आयरल्यान्डका काउटिस क्यामफेर म्यान अफ दी म्याच भए । उनले ब्याटिङमा ५९ बलमा ६२ रन बटुले । बलिङको क्रममा उनले १५ रन खर्चेर एक विकेट हात पारे । आयरल्यान्डको जितमा ह्यारी टेक्टरले ७६ बलमा चार चौका र दुई छक्काको सहयोगमा ६० रनको योगदान दिए ।
प्रतिक्रिया दिनुहोस्