धनगढी — धनगढी उपमहानगरपालिका–१२ जुगेडामा स्थानीय स्तरबाट क्रिकेट खेलको विकास गर्ने उद्देश्यसहित नयाँ क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ। हनुमाननगर युवा क्लबले स्थापना गरेको सेन्टरको शनिबार औपचारिक उद्घाटन गरिएको हो।
क्लबका अध्यक्ष बालकृष्ण अवस्थीको अध्यक्षतामा आयोजित कार्यक्रममा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले नेट अभ्यास क्षेत्र उद्घाटन गर्दै प्रशिक्षण केन्द्रको शुभारम्भ गरे।
क्लबका अनुसार स्थानीय बालबालिका र युवालाई नियमित क्रिकेट प्रशिक्षण उपलब्ध गराउने, नयाँ प्रतिभाको खोजी गर्ने तथा तल्लो तहबाटै खेलको आधार मजबुत बनाउने लक्ष्यका साथ सेन्टर सञ्चालन गरिएको हो।
उक्त सेन्टरलाई सुवास शाहीको नेतृत्वमा अघि बढाइएको ‘#Champions36’ अभियानसँग आबद्ध गरिएको छ। अभियानले सन् २०३६ सम्म नेपाललाई आईसीसी टी–२० विश्वकपको उपाधि दिलाउने दीर्घकालीन लक्ष्य लिएको छ।
अभियानअन्तर्गत यसअघि क्लबलाई नेट अभ्यासका लागि आवश्यक निर्माण सामग्री उपलब्ध गराइएको थियो। अब प्रारम्भिक तीन महिनासम्म नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका युवा क्रिकेटर विपिन रावलले प्रशिक्षकको भूमिका निर्वाह गर्ने जनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले स्थानीय तहमा यस्ता पूर्वाधार र प्रशिक्षण कार्यक्रम विस्तार हुनु नेपाली क्रिकेटको भविष्यका लागि सकारात्मक भएको बताए। क्लबका अध्यक्ष अवस्थीले अभियानबाट प्राप्त सहयोगले गाउँस्तरका खेलाडीलाई नियमित प्रशिक्षणमा समेट्न महत्वपूर्ण योगदान पुगेको उल्लेख गरे।
सोही अवसरमा क्लबका संस्थापक अध्यक्ष स्वर्गीय रविन्द्रबहादुर सिंहलाई मरणोपरान्त ‘हनुमाननगर स्मृति सम्मान’ प्रदान गरिएको थियो। राष्ट्रिय तेक्वान्दो खेलाडी दीपा जैसीलाई पनि खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।




प्रतिक्रिया दिनुहोस्