उखरमाउलो गर्मीमा सुदूरपश्चिमका किसानलाई धान रोप्ने चटारो

धनगढी । सुदूरपश्चिममा अहिले रोपाइँको चटारो छ । विशेषत कैलाली, कञ्चनपुरका किसान बर्खे धान बालीको रोपाइँमा व्यस्त छन् । रोपाइँका लागि पर्याप्त मनसुनी वर्षा नभएपछि बोरिङबाट पानी तानेर भए पनि रोपाइँ गर्नुपरेको कृषकले बताएका छन् । सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहितका जिल्लामा एक हप्ताअघिनै मनसुन भित्रिएको भए पनि रोपाइँ गर्न पुग्ने गरी ठूलो वर्षा हुन सकेको छैन ।

आम्दानी गर्ने र जीविका चलाउने मुख्य स्रोतको रुपमा बर्खे धान बाली रहेकाले बोरिङको पानी तानेर भए पनि रोपाइँ गर्नै परेको धनगढीका किसान मानबहादुर चौधरीले बताए । यसैबाट जीविका चलाउँनु छ, ब्याड तयार भइसकेकाले अहिले धान नरोपे कहिले रोप्ने ?, उनले भने, उखरमाउलो गर्मी भए पनि रोपाइँ गर्नै पर्यो ।

Dengue

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले अहिलेसम्म जिल्लामा रोपाइँ हुने जग्गाको झण्डै १२ प्रतिशतमा रोपाइँ पूरा भएको बताए । वर्षा भए पनि रोपाइँका लागि पर्याप्त छैन, उनले भने, वर्षाको पानीले खेतको माटो भिजाएर बोरिङको पानी कम मात्रामा लाग्नेसम्म बनाएको छ ।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा यस वर्ष मनसुन एक हप्ताअघिनै प्रवेश गरे पनि ठूलो वर्षा हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका सूचना अधिकारी सिङ्गल चौधरीले यस वर्ष सरदर कम वर्षा हुने अनुमान गरिएको बताएका छन् । मनसुन भित्रिएको एक हप्तायता अत्तरिया धनगढी क्षेत्रमा पटकपटक गरी झण्डै एकसय २५ मिमि मात्र वर्षाको मापन भएको छ । धान रोपाइँ गर्ने, हिलो बनाउने, काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्दा खेती गर्न पहिलेको भन्दा सजिलो भएको कृषकको अनुभव छ ।

यी औजारको प्रयोगले समयको बचत हुनुका साथै परिश्रमसमेत कम लाग्ने हुँदा रोपाइँ गर्न सहज भएको धनगढीका किसान वीरबहादुर रानाले बताएका छन् । सिँचाइको भरपर्दो सुविधा नभएको क्षेत्रमा आकासको पानीको भरमा धान रोपाइँ हुने गरेको छ । कैलाली जिल्लामा ७२ हजार पाँच सय हेक्टर र कञ्चनपुरमा ४८ हजार चार सय ५० हेक्टरमा बर्खे धान खेती हुने गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार