‘श्रीमान बचाउने अरु केही उपाय छैन, राज्यले केही सहयोग गरोस् भन्ने आश गरेकी छु’

भक्तराज जोशी

धनगढी । करिब ९ महिना अघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका डडेल्धुराको गन्यापधुरा गाउँपालिका ९ का प्रहरी जवान हर्केशबहादुर विष्ट अहिले उपचारका क्रममा काठमाडौंमा छन् । प्रहरी अस्पतालमा उपचार सम्भव नभएपछि विष्टको हाल काठमाडौंको अन्नपूर्ण न्यूरो हस्पिटलमा थप उपचार भईरहेको छ ।

दुर्घटनामा घाइते भएको ९ महिना बित्दा पनि विष्टको होस् नआएको विष्टकी श्रीमती निरुता विष्टले बताइन् । ‘दुर्घटना भएको ९ महिना भयो तर अझै पनि होस् आएको छैन’, उनले भनिन्, ‘प्रहरी अस्पतालमा उपचार सम्भव नभएपछि यहाँ ल्याएको हुँ तर के हुने हो केही पनि थाहा छ्रैन ।’

Dengue

मोटरसाइकल दुर्घटना भएपछि विष्टको उपचारमा हालसम्म करिब ३० लाख रुपैयाँ खर्च भइसकेको छ । जेनतेन गर्दै अहिलेसम्म गुजारा चलाए पनि अब भने स्रोत जुटाउने कुनै पनि आधार नभएको विष्ट बताउँछिन् । उनी भन्छिन्,– ‘अहिलेसम्म उपचारमा २५–३० लाख रुपैयाँ खर्च भईसकेको छ, भएको पैसा सबै खर्च भइसक्यो, बिरामीको अझै पनि होस् खुलेको छैन, कसरी उपचार गर्ने ?’

‘सुरुसुरुमा आफन्तले सहयोग गर्नुभयो, आफैसँग पनि केही रकम जम्मा थियो, त्यही पैसाले केही समय गुजारा चलाएँ’, उनले भनिन्, ‘भारतसँगै अन्य देशमा रहनुभएका नेपालीहरुले पनि सहयोग गर्नुभयो, उहाँहरुको गुन म कहिल्यै बिर्सिन्न, उहाँहरुकै सहयोगका कारण आजसम्म उपचार सम्भव भएको छ ।’

हर्केशबहादुर विष्टले पछिल्लो १० वर्षदेखि नेपाल प्रहरीमा काम गर्दै आएका थिए । राष्ट्र सेवकका रुपमा जीवनको १०–१० वर्ष व्यतित गर्दा पनि राज्यबाट कुनै पनि सहयोग नपाएको भन्दै विष्टकी श्रीमती निरुताले दुःख पोखिन् । ‘मेरो श्रीमानले १० वर्ष राष्ट्रको सेवा गर्नुभयो, राष्ट्रसेवक हुँदासम्म कुनै पनि गलत काम गर्नुभएन, निस्वार्थ, इमान्दारिताका साथ निरन्तर राष्ट्रको सेवा गर्नुभयो’, केही मलिन हुँदै निरुताले भनिन्, ‘तर अहिले यो अवस्थामा कसैले पनि हेरेको छैन ।’

उनका अनुसार हर्केशबहादुर दुर्घटनामा परेपछि सुरुमा उपचारका लागि नेपाल प्रहरीबाट उनलाई ३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । तर त्यसपछि भने स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार वा नेपाल प्रहरी कुनै पनि निकायबाट सहयोग नमिलेको भन्दै उनले गुनासो गरेकी छिन् । राज्यबाट धेरै ठूलो कुनै पनि आशा नभएको बताउँदै उनले आफ्नो श्रीमानलाई जोगाउनका लागि केही सहयोगको भने अपेक्षा गरेको बताएकी छिन् ।

‘मलाई अहिलेसम्म आफन्तले सहयोग गर्नुभयो, विदेशमा रहने नेपालीहरुले सहयोग गर्नुभयो, उहाँहरु सबैप्रति आभारी छु’, उनले थपिन्, ‘धेरै लामो समय बिरामी भएपछि खर्चले पुर्याउनै नसकिने रहेछ । त्यसैले धेरै त होइन मेरो श्रीमानलाई बचाउनका लागि राज्यबाट केही सहयोग होस् भन्ने अपेक्षा गरेको छु ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार