सुदूरपश्चिममा बढ्दै कोरोनाको जोखिम, नाकामा आवतजावत गर्नेहरु बढ्दा पनि सुरक्षा व्यवस्थामा लापरवाही !

भक्तराज जोशी

धनगढी । सुदूरपश्चिम प्रदेशमा कारोनाको संक्रमण दिनप्रतिदिन बढ्दो छ । दिनहुँ संक्रमण हुनेहरुको संख्या बढे पनि रोकथाममा भने लापरवाही देखिएको छ ।

जबजब मुलुकमा कोरोना महामारीको संक्रमण बढ्छ तबतब महामारीको सबैभन्दा ठूलो त्रासमा सुदूरपश्चिम प्रदेश हुन्छ । नेपालका अन्य प्रदेशहरुको हकमा भारतमा रोजगारीका लागि सुदूरपश्चिम प्रदेशबाट ठूलो जनशक्ति बाहिरिन्छ । सुदूरको नियती भनौँ वा बाध्यता, सदियौँदेखि यहाँ नागरिकले प्रमुख रोजगारीको थलोका रुपमा भारतलाई नै लिँदै आएका छन् । अझ खुला नाकाका कारणले पनि सुदूरपश्चिमबाट ठूलो संख्यामा नागरिक रोजगारीका लागि भारत जाने गरेका छन् ।

Dengue

कोरोना महामारीको संक्रमण घटेपछि रोजगारीका लागि भारतका विभिन्न राज्यमा पुगेका नेपालीहरु कोरोनाको संक्रमण पुनः बढ्न थालेपछि स्वदेश फर्किन थालेका छन् । भोक मेटाउन परदेश गए पनि रोगको डरले स्वदेश फर्किएको नाकामा भेटिएका सन्तोस सिँजालीले बताएका छन् । ‘अघिल्लो पटकको कोरोना महामारीमा पनि घर फर्किएको थिएँ । संक्रमण केही घटेपछि फेरी गएको हुँ’, उनले भने, ‘अहिले संक्रमण फेरी बढ्न थालेको छ, त्यसैले घर फर्किएको हुँ ।’

सुदूरपश्चिमको मुख्य नाकाका रुपमा रहेको त्रिनगर भन्सार नाकाबाट सन्तोस मात्र होइन दैनिक सयौँको संख्यामा नेपालीहरु स्वदेश फर्किरहेका छन् । स्वदेश फर्किनेहरुमध्ये अधिकांशले कोरोनाको संक्रमण पुनः बढेपछि स्वदेश फर्किएको बताएका छन् । ‘दशैं मनाएर स–परिवारसहित केरला गएको थिएँ तर कोरोनाको संक्रमण फेरी बढेपछि फर्किएको हुँ’, प्रेमलाल भट्टले भने, ‘अब केही समय दुःख, सुख यतै बिताउने हो, पछि संक्रमण केही घटेपछि फेरी जानु नै पर्छ, देशमा रोजगारी पाइँदैन ।’

कोरोना संक्रमण बढेपछि अपनाउनुपर्ने सुरक्षा व्यवस्था नअपनाउँदा हरेक पटक सुदूरपश्चिम प्रदेश कोरोना महामारीबाट विछिप्त हुने गरेको छ । यो भन्दा अघिल्लो पटकको दुई लहरमा पनि सुदूरपश्चिम प्रदेशमा अपनाउनुपर्ने सुरक्षा व्यवस्था अपनाइएन, जसका कारण सुदूरपश्चिम कोरोना संक्रमणको ‘हटस्पट’ बन्यो । यसपाली पनि यही हुन्छ कि भन्ने पिरमा छन् सुदूरपश्चिमबासी ।

दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दा पनि सुदूरपश्चिमका नाकामा अहिले खास हुनुपर्ने जति सुरक्षा व्यवस्था छैन । नाकामा दिनहुँ सयौँको संख्यामा नेपालीहरु स्वदेश भित्रिँदा पनि सामान्य चेकजाँचबाहेक खासै केही देखिँदैन त्रिनगर भन्सार नाकामा । जसका कारण सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणले झनै भयावह रुप लिने जोखिम बढेको छ ।

अहिले दिनहुँ कोरोना संक्रमण बढ्दा पनि जोखिम न्युनिकरणमा न प्रदेश सरकार जिम्मेवार देखिएको छ न त स्थानीय तहले तदारुकता देखाएका छन् । यही स्थिती रहने हो र कोरोना महामारीलाई सामान्य रुपमा लिने हो भने पुनः महामारीको पहिलो लहरको जस्तो अवस्था नहोला भन्न सकिन्न । यसतर्फ बेलैमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार