मिश्र समाज दार्चुलाद्वारा काठमाडौँमा भव्य होलीको आयोजना

काठमाडाैँ – दार्चुला घर भई हाल रोजगारीको सिलसिला तथा अध्ययन, व्यवसायको कारणले संघीय राजधानी काठमाडौँ बस्दै आएका मिश्र समाज दार्चुलाले भव्य होलीको आयोजना गरेको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. अक्कलदेव मिश्र, नेपाल सरकार सहसचिव डा. राजेन्द्रप्रसाद मिश्र, नेपाल सरकारका उपसचिव गणेशदत्त मिश्र लगायत अन्य विशिष्ट व्यक्तिहरु समेतको सहभागितामा होलीको आयोजना गरिएको थियो । होलीमा विभिन्न कार्यालयमा कार्यरत व्यक्तिहरु, विद्यार्थी, सञ्चारकर्मी लगायत अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो । सुदूरपश्चिममा खेलिने डेउडा लयको होलीलाई काठमाडौँमा निरन्तरता दिएका थिए ।

मिश्र समाजका अध्यक्ष विष्णुदत्त मिश्रले पहिलो पटक राजधानीमा आयोजना गरिएको होली थप उर्जा थपिएकोले आगामी बर्षमा निरन्तरता दिने र समितिलाई पूर्ण रूपमा सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

होलीमा रामायणका पात्र तथा कृष्णभवगानको गाथालाई होलीको गीतमार्फत पस्केका थिए । यसैगरी राष्ट्रको सातौँ धाम मालिकार्जुनको मन्दिरको गाथालाई समेत होलीको गीतमा परिणत गरि होली गाएका थिए ।

जय बोल भयौ मालिकार्जुनकी, जय बोल भयौ मालिकार्जुनकी ।
दार्चुला शहरको दक्षिण तिर ।
गोकुलेश्वरको उत्तरमा जय बोल भयौ मालिकार्जुनकी ।
दार्चृूला जिल्लाको भूमी है उच्चो ।
मालिकार्जुनको पर्वत छ जय बोल भयौ मालिकार्जुनकी ।
त्यसैको एक धुरो बरमुले लेक ।
त्यसै धुरामा सीसाखानी जय बोल भयौ मालिकार्जुनकी ।
मालिकार्जुनको फ्द्मा गाउँ छ ।
मड् भन्ने गाउँमा मन्दिर छ जय बोल भयौ मालिकार्जुनकी ।
दुहुँ, मार्मा, दार्चुला लेकम भरीका ।
सब जमा हुन्छन् जात्रा लागि जय बोल भयौ मालिकार्जुनकी ।
कार्तिक महिनाको शुक्ल चतुदर्शी ।
जात्रा र मेला हुन्छ भारी जय बोल भयौ मालिकार्जुनकी ।
मालिकार्जुन शिवका अंश ।
अवतार दोस्रा शंकरका जय बोल भयौ मालिकार्जुनकी ।

यसैगरी होली एक विशेष पर्व भएकोले राजधानीमा होली आयोजना गरि सुदूरपश्चिमको झल्को दिएको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. अक्कलदेव मिश्रले बताउनुभयो ।

होलीमा सहभागी कृषि तथा पशुपन्छी मन्त्रालयका कृषि महाशाखा प्रमुख सहसचिव डा. राजेन्द्रप्रसाद मिश्रले कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको होलीले हौसला दिएको भनि प्रशंसा गरेका थिए । यस्तै आगामी बर्षहरुमा समेत थप परस्कृत भई अझ उत्सवका साथ होली खेल्ने प्रतिबद्धता जनाएका थिए ।

यसैगरी उपसचिव गणेश मिश्रले पनि भाइचाराको सम्बन्ध कायम राख्न मिश्रहरु एक भई होली खेल्नुले संस्कृतिको जगेर्नाका साथ साथै एकताको सन्देश दिएको बताएका थिए । होलीमा विभिन्न होलीका गीतमा नृत्य गरेका थिए ।

होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा छिमेकी मूलक भारतमा प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । सत यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ । यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ ।
प्राचीन समयमा अथवा सत युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकश्यपुका छोरा प्रह्लाद बिष्णुका परम भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएका थिए । एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन) लाई जिम्मा दिएको थियो । दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन ।

सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा–युवतीहरू गीत गाउँदै–नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक–अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् । यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ अर्थात सुदूरपश्चिममा छरेली पुन्यू पनि भनिन्छ । होली पर्व घरपरिवार–साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै व्यक्तिगत दुष्मनीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर–विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर –लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । भारतमा पर्ने विंध्यक्षेत्रको रामगढ भन्ने स्थानमा स्थित ईसापूर्व ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ ।

होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध चुसाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । हिन्दू धर्म मान्नेहरूको बाहुल्यता भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भब्य हुन्छ । नेपालमा पहाडी क्षेत्रमा फाग पुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलीपल्ट मात्र तराईमा होली मनाइन्छ ।

सुदूरपश्चिममा होलीको रौनक अझै फरक हुन्छ । विशेष सांस्कृतिक कार्यक्रमहरू र त्यसमाथि रङहरूको वर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ । होलीमा पानी छ्याप्ने, अबिर, केशरी लगायत रङ लगाउने चलन छ । भारतको कुमाउ, गडवाल तथा उत्तराखण्डबाट भित्रिएको पर्वको रुपमा होलीलाई लिने गरिन्छ । दार्चुला, बैतडी तथा पहाडी जिल्लाममा यसलाई देउडा खेल खेलेजस्तै घरघरमा गई खेल्ने गरिन्छ । यसैगरी कुनै सार्वजनिक स्थलको रुपमा भेला भई नृत्य प्रस्तुत गर्दै होलीका गीतहरु गाउने पनि गरिन्छ । दार्चुला जिल्लाको लेकम क्षेत्रको होलीमा भने अझ फरक पहिचान बोकेको पाइन्छ । फागु पूर्णिमा (छरेली पून्यू) को तीन÷चार दिन पहिले देखि समुदायका बुढापाखा, युवाहरु जम्मा भई होलीको तयारी गरिन्छ । सामुहिक रुपमा भेला भई सबैको पायक पर्ने अथवा इष्टकुल देवताको मन्दिर प्राङगणमा गई होलीको सुरुवात गर्ने चलन छ । मन्दिरमा सुरुवात गरेपछि होली विधिवत रुपमा सुरु भएको मानिन्छ । होलीका गीतहरु नेपाली, कुमाउनी, गडवाली तथा हिन्दी भाषामा प्रख्यात छन् । सिमावर्ती क्षेत्र तथा भारतबाट भित्रिएको पर्व भएका कारण पनि होलीमा अभिकांश भारतका शब्द हरु समावेश गरिएका छन् । रामायण कथामा आधारित होलीलाई लय मिलाएर सामुहिक रुपमा खेल्ने गरिन्छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार