धनगढी । नवजीवन सहकारी संस्था लिमिटेडको ३२औँ वार्षिक साधारणसभाअन्तर्गत सम्पन्न निर्वाचनमा ४ हजार ३०३ मतसहित सञ्चालक समितिको उपाध्यक्ष पदमा निर्वाचित भएका उत्तम जोशी लाई उनकी छोरी उपासना जोशीले लेखेको भावुक स्टाटसले धेरैको मन छोएको छ ।
“१७ चुनाव, १७ जित” शीर्षकमा लेखिएको उक्त अभिव्यक्तिमा उपासनाले केवल एउटा चुनावी जितको कुरा गरेकी छैनन्, उनले एक असल, मिलनसार र सहयोगी व्यक्तित्वको जीवनयात्रा उतारेकी छन् ।
उत्तम जोशीलाई नजिकबाट चिन्नेहरू भन्छन् ” उनी पदले भन्दा व्यवहारले ठूलो मान्छे हुन् । कसैलाई समस्या पर्दा अगाडि सर्ने, सहयोग गर्न कहिल्यै पछि नहट्ने, सानो-ठूलो नभनी सबैलाई समान व्यवहार गर्ने उनको स्वभावले नै उनलाई धेरैको प्रिय बनाएको छ ।”
उपासनाले आफ्नो स्टाटसमार्फत बुवाको जीवनका उतारचढाव नजिकबाट देखेको बताएकी छन् । पदमा हुँदा घर मानिसले भरिने, फोन लगातार बजिरहने, हरेक दिन भेटघाट भइरहने अवस्था पनि उनले देखिन् । तर, केही वर्ष जिम्मेवारीबाहिर हुँदा त्यही भीड विस्तारै हराउँदै गएको पीडा पनि उनले महसुस गरिन् ।
तर, ती सबै परिस्थितिमा पनि उत्तम जोशीको व्यवहार कहिल्यै फेरिएन । न कसैप्रति गुनासो, न कटुता । बरु सधैं सकारात्मक सोच, समाजप्रतिको प्रेम र अरूको भलो गर्ने भावना बोकेर उनी अघि बढिरहे ।
सायद यही कारण हो वर्षौं बित्दा पनि मानिसहरूको विश्वास उनिमाथि उस्तै बलियो रह्यो । चुनावमा प्राप्त मत केवल अंक होइनन्, त्यो उनको व्यवहार, सेवाभाव र कमाएको सम्मानको प्रतिफल भएको धेरैको बुझाइ छ ।
उपासनाले लेखेकी छन्, “म सधैं उहाँकी छोरी हुन पाउँदा गर्व गर्थें, तर यसपटक उहाँलाई अझ गहिरो रूपमा बुझ्न पाएँ ।”
यो अभिव्यक्ति अहिले धेरैका लागि केवल स्टाटस नभई एउटा प्रेरणा बनेको छ । राम्रो सोच, निरन्तर सेवा र मान्छेप्रतिको सम्मान कहिल्यै खेर जाँदैन भन्ने प्रेरणा ।




प्रतिक्रिया दिनुहोस्