काठमाडाैं – आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले कुवेतलाई २ सय ४३ रनले पराजित गरेको छ । एसिया छनोट प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । आज भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको थियो । तर कुवेत ३० ओभर ५ बलमा एक सय रनमा अलआउट भयो ।
नेपालका आकाश चन्दले ६ तथा हेमन्त धामी र दिपेश कंडेलले समान २/२ विकेट लिए । त्यसअघि युएईको मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको थियो । नेपालका अर्जुन कुमाल र कप्तान देव खनालले शतक बनाएका थिए ।
कप्तान देव खनालले १ सय २५ रन र अर्जुन कुमालले १ सय ८ रन बनाए । देव र अर्जुनको करिअरको पहिलो शतक पनि हो । प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकपका लागि छनोट हुनेछ ।
प्रतिक्रिया दिनुहोस्