काठमाडौँ – दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन् बढी सजगताका साथ काममा खटिनुपर्छ। सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ।
सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरु सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन्। यसरी खटिने प्रहरीले न शुक्रबारको आधा दिन मात्रै काम गरे पुग्छ, न बिदा र चाडपर्वमा अन्य कर्मचारीसरह बिदा पाउँछन्।
यसो त अन्य समयमा पनि जुनसुकै बेला कामका लागि तयारी हुनुपर्दछ। परिवार सँगसँगै रहेर सेवा गर्ने मौका उनीहरुलाई कमै मात्र पाउँछन्। सरकार तलब भत्ता खुवाउने फौजीबाहेकका सबै कर्मचारीको भन्दा पृथक र कडाइका साथ उनीहरु खट्नु पर्छ।
यसरी खट्दै गर्दा अन्यको भन्दा धेरै पारिश्रमिक पनि उनीहरुले पाउँदैनन्। थोरै पारिश्रमिकमा आफ्नो जीवनको उर्वर समय उनीहरुले राष्ट्रलाई दिइरहेका हुन्छन्। उनीहरुले पाउने पारिश्रमिक श्रमका आधारमा नगण्य हुने गर्दछ।
घरपरिवारबाट टाढा रहेर रातदिन खट्ने प्रहरी जवानको पारिश्रमिक रु २६ हजार ८२ मात्रै रहेको छ। यो उनीहरुको परिश्रमको आधारमा न्यून हो। यही सङ्गठनले आज ६७ औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ।
एउटा उत्सवको रुपमा प्रहरी दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार भीमबहादुर लायोमगर निकै उत्साहका साथ दिवसलाई सफल बनाउन लागि रहेका छन्। ‘हाम्रो लागि प्रहरी दिवस एउटा उत्सव हो। यसलाई रमाइलो गरेर मनाउनुपर्छ,’ उनले भने।
प्रहरी सङ्गठनभित्र काम गर्दा पाउने दुःखलाई बिर्सिएर उत्सवको रुपमा दिबस मनाउने गरेको उनले बताए। ‘२४ घण्टा कार्यक्षेत्रमा रहँदा हुने हरेक किसिमका समस्यालाई समाधान गर्ने बानी परेको छ,’ उनले भने। जुनसुकै कामलाई पनि सकारात्मक रुपमा लिएर काम गर्दा सहज हुने उनको भनाइ छ। आफूले पाउने पारिश्रमिकको हिसाब नगरी कर्म क्षेत्रमा खटिने गरेको उनले बताए। ‘बाहिर हेर्दा आहा भए पनि भित्र काममा हुने दुःख कस्ले बुझेको छ र?, न कुनै चाडपर्व, न कुनै समय सधै जनताको सेवामा लाग्नु पर्दा पाईने दुःखलाई बाहिरका कस्ले बुझ्ने? उनले प्रश्न गरे। जे भए पनि प्रहरी सङ्गठनमा लागेर जनता र राज्यको सेवा गर्न पाउनु खुसीको कुरा रहेको उनले बताए।
यस्तै उत्साही देखिँदै थिए, प्रहरी सहायक हवल्दार चिजकुमार श्रेष्ठ। उनी प्रहरी सेवामा लागेको १६ वर्ष भएछ। उनमा प्रहरी सङ्गठनप्रतिको मायाँ उत्तीकै छ। ‘सङ्गठनले दिएको जिम्मेवारी हर हालतमा पूरा गर्छौं,’ उनले भने। जस्तोसुकै दुःखमा पनि काम गर्ने बानी सङ्गठनले बनाइदिएको उनको भनाइ छ। प्रहरी सेवा भनेको नै कठिनभन्दा कठिन काम गर्नका लागि भएको उनले बताए। ‘प्रहरीमा प्रवेश गर्न सुरुआती कठिन हुन्छ। त्यसपछि तालिम र कार्यक्षेत्रमा खटिँदा झनै कठिन हुन्छ,’ उनले भने।
बाहिर देख्नेले सहज देखे पनि संगठनको नियम कानुनमा बसेर काम गर्न कठिन हुने उनले बताए। ‘चाड पर्ब, मेला, महोत्सव भन्ने कुरा सम्झने हो,’ उनले भने। देश र जनताको सेवामा लाग्न पाउनु नै खुसीको कुरा रहेको उनको भनाइ छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डित अन्य क्षेत्रमा भन्दा फौजीको काम कठिन नै हुने बताउँछन्। यहाँ काम गर्दा पर्ने हरेक समस्यालाई सहजताका साथ लिन सके हरेक काम गर्न सकिने उनले बताए। कुनै पनि फौजमा बाहिर देखेभन्दा कठिन हुने उनको भनाइ छ। घाम–पानी, घर–परिवार नभनी देश र समाजको सुरक्षामा खटिनु गर्वको कुरा भए पनि यहाँ काम गर्दा आइपर्ने समस्या बाहिरकाले बुझ्न कठिन हुने उनले बताए।
‘२४ घण्टा कार्यक्षेत्रमा खटिनु पर्दा जटिल कति हुन्छ यसलाई उचित व्यवस्थापन गरेर अघि बढ्नुपर्छ,’ उनले भने। व्यवस्थापन गर्न सके प्रहरी पेसा राम्रो रहेको उनले बताए। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले नेपाल प्रहरीले चाडपर्व, बिदा भन्न नपाउने बताए। अन्य कर्मचारी घरमा चाडपर्व मनाइरहँदा आफूहरु सडक वा ब्यारेकमा रहेर सेवामा जुट्नुपर्ने उनको भनाइ छ। ‘परिश्रमको आधारमा पारिश्रमिकलाई तुलना गर्न सकिँदैन,’ उनले भने। सरकारका अन्य कर्मचारीले दैनिक घडी हेरेर काम गर्न पाउने भए पनि प्रहरी जुनसुकै बेलामा पनि काममा खटिनुपर्ने उनको भनाइ छ।
प्रहरी दिवसका अवसरमा प्रहरीको मनोबल बढाउनुपर्ने उनले बताए। थोरै जनशक्तिले धेरै काम गर्नुपर्ने बाध्यता आफूहरुसँग रहेको उनले बताए। रासस
प्रतिक्रिया दिनुहोस्