धनगढी : सुदूरपश्चिममै पहिलो पटक दलितका सवालमा छलफल गर्न ‘दलित सामाजिक मञ्च’ आयोजना गर्न लागिएको छ । यही पुस ९ गते दलित विकास सेवा केन्द्र लगायतका संघसस्थाहरुको आयोजनामा कैलालीको धनगढीमा ‘दलित सामाजिक मञ्च’ आयोजना गर्न लागिएको हो ।
मञ्चमा तीन वटा मुख्य सवालमा प्यानलगत छलफल गरिने दलित विकास सेवा केन्द्रका अध्यक्ष टेक विकले बताए । उनले राज्यलाई दबाब दिन, राज्यले गरेका कामको पुनरावलोकन गर्न, दलित समुदायका लागि गरिएका हरेक क्रियाकलापको मूल्याङ्कन गर्न र दलितहरूको सशक्तीकरण गर्न प्यानलगत छलफल गरिन लागिएको बताए ।
जसअन्तर्गत पहिलो प्यानलमा समानुपातिक समावेशिताका लागि संविधान, ऐन कानुनमा गरिएका व्यवस्था र सुदूरपश्चिममा समानुपातिक समावेशिताको अवस्थाका बारेमा छलफल हुनेछ भने दोस्रो प्यानलमा जातीय छुवाछुतको अन्त्य र दलित समुदायको सशक्तीकरणका लागि राज्यले बनाएका ऐन कानुन र संरचना कार्यान्वयनको अवस्था, सुदूरपश्चिममा जातीय छुवाछुतको अवस्था र राज्यले खेलिरहेको भूमिकाका विषयमा छलफल हुने अध्यक्ष विकले बताए ।
त्यस्तै तेस्रो प्यानलमा महिला, दलित महिला, बालबालिका लगायत पछाडि पारिएका दलित समुदायको राज्यले सशक्तीकरणका लागि प्रदेश सरकार र स्थानीय सरकारका नीति कार्यक्रम र बजेटमा गरेका व्यवस्था र यसमा दलित समुदायको पहुँचको विषयमा छलफल गरिने जनाइएको छ ।
अध्यक्ष विकले तिन वटै प्यानल छलफलमा विषय विज्ञ, राज्यका जिम्मेवार निकाय, अभियन्ता र प्रश्न गर्ने आम सर्वसाधारणको सहभागिता रहने बताए । उनले यस किसिमको छलफलबाट जिम्मेवार निकाय जवाफदेखि बन्ने विश्वास लिएको बताए । ‘नेपाल छुवाछुत मुक्त घोषणा भएको १८ वर्ष पुग्दा पनि देश निर्माणमा लाग्नुपर्ने दलित समुदाय अहिले पनि कलङ्कको रूपमा रहेको छुवाछुत अन्त्य गर्नको लागि लडिरहेको छ ।
आफ्नो मुक्तिको लागि लडिरहेको छ’ उनले भने ‘कानुनले एक किसिमको व्यवस्था गरेको भए पनि ती नीति नियम कार्यान्वयनको अवस्था गतिलो छैन । यो अवस्थामा हामीले जिम्मेवार निकायलाई जबाफदेही बनाउनु पर्छ । राज्यले गरेका व्यवस्था अक्षरशः कार्यान्वयन हुनुपर्छ भनेर हामी अगाडि बढेका छौ ।’
उनले ‘दलित सामाजिक मञ्च’ सबैले अपनत्व लिने गरी यस वर्षदेखि सुरु हुन लागेको बताए । उनले मञ्च दलितहरूका मुद्दा उठाउने, बहस गर्ने, राज्यलाई जिम्मेवार बनाउने ठाउँ भएको बताए । उनले छलफलबाट सुदूरपश्चिमको घोषणा पत्र जारी गरेर राज्यका जिम्मेवार निकायलाई बुझाइने बताए ।
दलित महिला अधिकार मञ्चकी अध्यक्ष सावित्रा घिमिरेले दलित समुदायका मुद्दाहरू, समस्या र अधिकार स्थापना गर्नको लागि सुदूरपश्चिममा दलितका हक हितमा काम गर्ने संघसस्थाहरुको सहकार्यमा ‘दलित सामाजिक मञ्च’ कार्यक्रमको आयोजना गर्न लागिएको बताइन् । मञ्चमा दलित समुदायका मुद्दा कसरी उठान गर्ने, आगामी दिनमा दलित समुदायको राज्यका हरेक संरचनामा अर्थपूर्ण पहुँच पुयाउनेको लागि छलफल गरिने उनले बताइन् ।
‘कानुन निर्माण गरेर मात्रै नभएर नीतिगत रूपमा कसरी काम गर्न सकिन्छ भन्ने चुनौतीका बिच मञ्च मार्फत वृहत् छलफल हुने छ’ उनले भनिन् ‘दलित समुदायका मुद्दामा जबसम्म गैर दलित समुदायको ऐक्यबद्धता हुँदैन तब सम्म यो मुद्दा ओझेलमा पर्ने भएकाले सबैको सहकार्यमा कार्यक्रम आयोजना हुन्छ ।’
कार्यक्रममा राजनीतिक दलको नेतृत्व, विज्ञ, दलित समुदायका अभियन्ता लगायत करिब ७ सय जनाको सहभागिता रहने जनाइएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्ने मञ्चको लोगो समेत आइतबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्