एजेन्सी : एसीसी यु-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।
मंगलबार यूएईमा सारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको १२३ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेटको क्षतिमा भेट्टाएको हो ।
नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रनको योगदान दिए । यस्तै, कप्तान हेमन्त धामी २२ रनमा अविजित रहँदा उपकप्तान अर्जुन कुमालले २१ रनको योगदान दिए । यस्तै, अभिषेक तिवारीले १३ रन जोड्दा अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अफगानिस्तानका लागि अल्लाह गजनफर र खातिर खान स्टानिकजईले समान ३-३ विकेट लिँदा अब्दुल अजिज खान र महबुब खानले १-१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३५.४ ओभरमा १२३ रनमा अलआउट भएको थियो । अफगानिस्तानका लागि फैसल खानले सर्वाधिक ५२ रनको योदान दिए । यस्तै, खातिर खान स्टानिकजईले १५, बरकत इब्राहिमजईले १२, अल्लाह गजनफरले ११ र नसिर खान मारुफखी १० रन जोडेका थिए ।
प्रतिक्रिया दिनुहोस्