काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान भएको खेलमा सुदूरपश्चिम रोयल्सका सामु विराटनगर किङ्सको बलिङ र ब्याटिङ दुवै फ्लप भएको छ ।
टस विराटनगरको पक्षमा गए पनि सुदूरपश्चिमले विराटनगरविरुद्ध दबदबापूर्ण जित निकालेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले विराटनगरविरुद्ध २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रनको विशाल योगफल तयार पार्यो ।
१८३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर सुदूरपश्चिमको कसिलो बलिङको सामु निरीह बन्न पुगेको हो । सुदूरपश्चिमले विराटनगरलाई १६.१ ओभरमा ९२ रन दिँदै अलआउट गरेको हो ।
सुदूरपश्चिमका लागि दिपेन्द्रसिंह ऐरीले २४ बलको सामना गर्दै सर्वाधिक ५७ रनमा नटआउट रहे । त्यस्तै ब्रान्डन माकमुलनले ३६ रन जोड्दा विनोद भण्डारीले २३ र इसान पाण्डेले २१ रन जोडे ।
बलिङतर्फ विराटनगरका लागि अनिल खरेलले ३ विकेट लिँदा क्रिस सोले, प्रतिश जिसी र बसिर अहमदले १/१ विकेट लिए । कप्तानसमेत रहेका सन्दीप लामिछानेले ४ ओभरमा ३१ रन खर्चिए पनि विकेट लिन सकेनन् ।
जवाफी ब्याटिङमा उत्रिएको विराटनगरको ब्याटिङ लाइन सुदुरपश्चिमले ध्वस्त बनायो । सुदूरपश्चिमका ओपनर लोकेश बम २ रन बनाउँदै आउट हुँदा अघिल्लो खेलमा अर्धशतक प्रहार गरेका मार्टिङ गुप्टिल पहिलो बलमै आउट भए ।
निकोलस किर्टोन ५, दीपक बोहोरा ५, इस्मात अलाम ६ रन बनाउँदै आउट हुँदा प्रतीश जीसी १ र सन्दीप लामिछाने ८ रन बनाउँदै पेभेलियन फर्किए । विराटनगरका लागि राजेश पुलामीले १५, बसिर अहमदले २४ र अनिल खरेलले १० रन जोड्नबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । त्यस्तै क्रिस सोलेले ९ रन जोडे ।
सुदूरपश्चिमका लागि स्कोट कुगलेजिन र अविनास बोहोराले ३/३ विकेट लिए । त्यस्तै ब्रान्डन माकमुलनले १ विकेट लिँदा इसान पाण्डे र सेइफ जइबले पनि १/१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्