बैतडी : दार्चुलाको असिगडामा नेपाल–भारत जोड्ने ११० मिटर लम्बाइको मोटरेबल स्टिल ब्रिज निर्माणको काम सकिएको छ । असिगडा पुल कञ्चनपुरपछि दोस्रो मोटरेबल नाका बनेको छ । पुल निर्माणको काम भारतीय पक्षले गरेको हो ।
दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला तहसिल बलुवाकोट नजिकको छारछुम क्षेत्र जोड्ने मोटरेबल पुलको काम यही मङ्सिर पहिलो साता सकिएको हो । अब दुई देशका नागरिक यातायात सुचारु हुने प्रतीक्षामा छन् । भारतीय कम्पनी पी एन्ड आर इन्फ्रा पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपियाँ रहेको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले बताए ।
पुल निर्माणको काम सम्पन्न भएपछि नेपाल र भारतका धार्मिक, पर्यटकीय क्षेत्र र व्यापार व्यवसायमा टेवा पुग्ने छ । पुल निर्माणको काम सकिएपछि नेपालतर्फको १५० मिटर सडक सम्याएर स्तरोन्नतिको काम भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । प्रजिअ जोशीले पुल सञ्चालनका लागि दुई देशका उच्च अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेपछि सञ्चालनमा आउने बताए । पुलका दुवैतर्फ छिट्टै नेपाल–भारतका सुरक्षाकर्मीको चेक पोस्ट बस्ने उनले बताए । यो पुलबाट भारतको धार्चुला हुँदै पिथौरागढ, हलद्वानी भएर टनकपुर र भारतको राजधानी नयाँ दिल्लीसम्म पुग्न सकिन्छ । त्यसै गरी नेपालतर्फको दार्चुलास्थित मालिकार्जुनधाम, अपि नाम्पा, बैतडीको त्रिपुरासुन्दरी, पातालभुमेश्वर गुफालगायतका क्षेत्र हुँदै भारतीय पर्यटकले कैलाली र कञ्चनपुरसम्मको यात्रा गाडीमै गर्न सक्ने छन् ।
सेलायो झुलाघाट पुलको चर्चा
नेपाल–भारत जोड्ने बैतडीको झुलाघाट मोटरेबल पुलको चर्चा सेलाएको छ । झुलाघाट मोटरेबल पुल निर्माणका लागि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच लिखित सहमति भए पनि पुल निर्माणको कुनै सुरसार देखिएको छैन । गएको सङ्घीय निर्वाचनमा तीन ठुला राजनीतिक दल नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैतडीको पाटनमा आयोजित फरक फरक चुनावी सभामा झुलाघाट पुल छिटै निर्माण हुने आश्वासन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्