अछाम : अछामको चौरपाटीमा खुलेआम अवैध मदिराको कारोबार हुँदै आएको छ। जिल्लाको चौरपाटी गाउँपालिकाले कमसल मदिराको बिक्री–वितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाएको छ। तर, गाउँपालिका क्षेत्रमा अवैध मदिराको कारोबार हुने गरेको हो।
स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै गाउँपालिकाले कमसल खालको मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो। तर, हाल उक्त निर्णय कागजमै सीमित भएको देखिएको छ। गाउँपालिकाले गरेको प्रतिबन्धात्मक निर्णयलाई नजरअन्दाज गर्दै व्यापारीहरूले खुलेआम रूपमा गैरकानुनी रूपमा मदिरा बेचबिखन गरिरहेका हुन्। अघिल्लो सरकारले पालिकाभित्र न्यून गुणस्तरका मदिरा बिक्री वितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाएको थियो।
त्यस बेला पनि सो निर्णय पूर्ण रुपमा कार्यान्वयन नभए पनि व्यापारीहरुले लुकी चोरी मात्रै महङ्गो रकममा मदिरा बेच्ने गरेका थिए। तर, अहिले भने खुलमखुल्ला अवैध मदिराको बिक्री वितरण तथा ओसारपसार भइरहेको हो।
केही महिना अगाडी पालिकाभित्र मदिरामाथि लगाइएको नियम खुला गर्नु पर्ने भन्दै चर्को बहस समेत भएको थियो। मदिरा व्यापारी र केही राजनीतिक दलका प्रतिनिधिले मदिरा निर्वाध रुपमा बेच्न पाउनु पर्ने माग गरेका थिए। तर, गाउँ कार्यपालिकाको भदौ ५ गतेको निर्णयले मदिरा बिक्री वितरण तथा ओसारपसारमा लगाइएको प्रतिबन्ध कायमै रहेको र थप कडाई गर्ने निर्णय गरेको थियो।
साथै पालिकाले नियम उल्लङ्घन गरेको पाइएमा कानुनी कारबाही हुने चेतावनी समेत दिएको थियो। तर, सो निर्णय भएको झण्डै तीन महिना पुग्नै लाग्दा पनि व्यवहारमा लागु भएको छैन। त्यसबेला सो निर्णयले स्थानीय जनतामा सकारात्मक सन्देश प्रवाह गरे पनि हाल त्यसको कार्यान्वयन कागजमै सीमित देखिएको हो।
गाउँका विभिन्न स्थानहरूमा खुलेआम कमसल मदिराको बिक्री वितरण र ओसारपसार भइरहेको व्यापक जनगुनासो बढेको छ। यस्ता मदिरा गाउँका किराना पसलदेखि मदिरा भट्टीहरूमा सजिलै पाइन्छ। बाहिरका व्यापारीहरुले गाडीमार्फत गाउँका टोलटोलमा कमसल खाले मदिरा पु¥याउने क्रम पनि रोकिएको छैन।
मदिरामाथिको प्रतिबन्ध लागू गर्न गाउँपालिकाले प्रभावकारी कदम नचालेको स्थानीयहरूको आरोप छ। गाउँपालिकाले गत भदौ ५ गते एक विज्ञप्ति जारी गर्दै मदिरा प्रतिबन्धलाई कडाईका साथ लागू गर्ने जनाएको थियो। तर, हालसम्म कुनै ठोस कार्यान्वयनको योजना देखिएको छैन।
पालिकाले अनुगमन तथा चेकजाँच समेत गरेको छैन। गाउँपालिकाको निर्णय व्यवहारमा लागू नहुँदा जनतामा अन्योलता र निराशा छाएको छ। चौरपाटीका स्थानीयले प्रशासन र प्रहरीलाई कारबाही प्रक्रिया सुरु गर्न आग्रह गरेका छन्। ‘हामीले पहिले यो निर्णयलाई स्वागत गयौं, तर अब निराश भएका छौं। तत्काल कदम चालिएन भने स्थिति झन् बिग्रनेछ,’ एक स्थानीय एकले भने।
कमसल खाले मदिराको खुलेआम बिक्रीले समाजमा होहल्ला, झैँझगडा, अशान्तिसँगै घरेलु हिंसाका घटना पनि बढेको बताइएको छ। चौरपाटी गाउँपालिका–४ का युवाहरुले मदिरा सेवन गरी होहल्ला गरेको भन्दै प्रहरीले जरिवाना गराएको थियो।यता चौखुट्टे र सिउँडी प्रहरीले आफूले मात्रै कमसल खालको मदिरा बिक्री वितरण तथा ओसारपसारमाथिको प्रतिबन्ध कार्यान्वयन गर्न नसक्ने बताउँदै आएका छन्।
स्थानीय जनप्रतिनिधि, जनता र पालिकाले साथ दिए मात्रै मदिरामाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन गर्न सकिने प्रहरीको भनाइ छ। चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले पनि मदिरा सम्बन्धि पालिकाकाले गरेको निर्णय पूर्ण रुपमा कार्यान्वयन नभएको स्वीकारे। उनले मदिराबारे गरेको निर्णय कार्यान्वनमा रहेपनि पूर्ण रुपमा लागू नभएको बताए। आफूहरु सो नियम पूर्ण रुपमा लागिरहेको उनको दाबी छ।
मदिरा सेवन गरेर होहल्ला गर्ने केही व्यक्तिहरुलाई कानुनी दायरामा पनि ल्याइएको छ। तर, बिक्रि बितरण गर्नेलाई भने अहिलेसम्म कारबाही गिरएको छैन। अध्यक्ष साउँदले मदिरा प्रतिबन्धका विषयमा हिउँदे अधिवेशनपछि टोल टोलमा गएर छलफल चलाउने बताए। उनले भने, ‘हिउँदे अधिवेशन पुष पहिलो हप्ता छ । त्यसपछि टोल टोलमा गएर महिला, युवा, व्यापारी र राजनीतिक दलसँग छलफल गर्छु। त्यसबाट आएका धारणापछि नयाँ तरिकाले अगाडि बढ्छौँ।’
पालिकाभित्र कमसल खालको मदिरा बिक्रिवितरण तथा ओसारपसार गर्न पाइँदैन भने अन्य मदिरा बेलुका ५ देखि राति ९ बजेसम्म मात्रै बेच्न पाउने गाउँपालिकाको नियम छ।
प्रतिक्रिया दिनुहोस्