धनगढी : निसर्ग हस्पिटलद्वारा विद्यालय स्तरीय मानसिक स्वास्थ्य साक्षरता कार्यक्रम सञ्चालनमा आएको छ। धनगढीमा रहेको हस्पिटलले मानसिक स्वास्थ्य सम्बन्धी विद्यालयमा पढ्ने विद्यार्थीलाई सचेत बनाउनको लागि यो कार्यक्रम सञ्चालनमा ल्याएको निसर्ग हस्पिटलका सूचना अधिकारी रोहित गिरीले बताए।
विद्यालय स्तरीय मानसिक स्वास्थ्य साक्षरता कार्यक्रम आज धनगढीको पञ्चोदय माध्यमिक विद्यालयबाट सुरु गरिएको र अन्य विद्यालयमा समेत उक्त कार्यक्रम सञ्चालन गरिने गिरीले बताए।
निसर्ग हस्पिटलका मानसिक तथा नसारोग विशेषज्ञ डाक्टर प्रभात सापकोटाले मानसिक स्वास्थ्यको बारेमा जानकारी गराएका थिए। मानसिक स्वास्थ्य भनेको के होरु मानिसक समस्याको समाधान र मानसिक समस्या आएपछि कसरी बच्ने भन्ने उपायका बारेमा समेत जानकारी गराएका थिए ।
यो समस्याले बढी प्रभावित हुने उमेर समूह , मानसिक रोगका संकेतबारे उहाँले उक्त कार्यक्रममा उपस्थित भएका विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई प्रशिक्षण दिए। यस्तै कार्यक्रममा निसर्ग हस्पिटलका मानसिक स्वास्थ्य परामर्शदाता सुशील चटौतले पनि मानसिक रोगबारे सचेत गराउनुका साथै बच्ने उपायहरूका बारेमा बताए ।
निसर्ग हस्पिटलले बेलाबेलामा समाज सेवाका कार्यक्रमहरू गर्दै आएको र मानसिक समस्या सम्बन्धीको कार्यक्रम पछिल्लो समयमा एकदमै आवश्यक रहेको हुँदा विद्यालय स्तरमा गरिएको निसर्ग हस्पिटलका सूचना अधिकारी गिरीले बताए।
उक्त कार्यक्रममा हस्पिटलका मानसिक रोग विशेषज्ञ डाक्टर प्रभात सापकोटा, हस्पिटलका मानसिक स्वास्थ्य परामर्शदाता सुशील चटौत , सूचना अधिकारी रोहित गिरी, हस्पिटलका अन्य कर्मचारीहरू र विद्यालयका शिक्षक, विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्