धनगढी : कैलालीको धनगढीमा नेपाल खानेपानी संस्थान शाखा कार्यालय धनगढीले तीन सय ५० किलोमिटरभित्र खानेपानीका पाइप मर्मत गर्ने भएको छ।
संस्थानले नयाँ पाइपलाइन विस्तारसँगै पुराना लाइन फेर्न भएको छ। धनगढीको सहिदगेट–क्याम्पस चोक सडकको एक दर्जन स्थानमा अहिले खानेपानीका पाइप फुटेर ठाउँठाउँमा खाल्डाखुल्डी मात्रै परेका छैनन् सवारीचालक तथा पैदलयात्रीले समेत समस्या झेल्नु परिरहेको छ।
क्षेत्रीय सहरी विकासमार्फत कालोपत्र गरिएको सडकको बिच भागमा खानेपानीको पुरानो पाइप लाइन भएकाले ठाउँठाउँमा सडकसमेत भत्किन पुगेको छ। क्षेत्रीय सहरी विकासमार्फत कालोपत्रको ठेक्का पाएको कालिका कन्स्ट्रक्सनले सडकका दुबैतिर पाइप लाइन विस्तार गरेको भएपनि पुरानो पाइप लाइनबाट खानेपानीको आपूर्ति हुने गरेको छ।
कालोपत्र सडकको बिच भागमा रहेको पुरानो खानेपानीको पाइप लाइनका कारण सडकमा खाल्डाखुल्डी परेपछि मर्मत गर्न थालिएको छ। नेपाल खानेपानी संस्थान, धनगढीका प्रमुख शैलेन्द्र शाहले कालिका कन्स्ट्रक्सनले अधुरो छोडेको खानेपानीको काम थालेको बताए। उनले भने, ‘उपमहानगरपालिकाको आग्रहमा काम सुरु गरेका छौँ। दुबैतिर पाइप हालेको छ। तर, असजिलो बनाएर छोडिएको छ। हामीले काम गर्दैछौँ।’
कालिका कन्स्ट्रक्सनले धनगढीमा १० किलोमिटर सडक कालोपत्रको काम गरेको छ। सडकको दुबैतिर खानेपानीका पाइप विस्तार गरिएका छन। तर, खानेपानी संस्थानले नयाँ जडान गरिएका पाइपहरुमा पानी छोडेको छैन। संस्थानले विस्तार गरेका पुराना पाइपहरु खारेजी गर्दै नयाँ कम्पनीले विस्तार गरेका पाइप लाइनहरुमा पानी र धाराहरु जडानको काम थालेको छ।
कालिका कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाश खरेलले १० किलोमिटरको दुबैतिर गरेर २० किलोमिटर पाइप लाइन विस्तार गरेको बताए। उनले भने, ‘खानेपानीको दुबै साइटमा पाइप छ। मेयर पासको अध्यक्षतामा संस्थानले गर्ने निर्णय भएको छ। उहाँहरुले काम थाल्नु भएको छ।’ कालिका कन्स्ट्रक्सनले अधुरो गरेको काम नेपाल खानेपानी संस्थानले पुरा गर्न लागेको हो।
संस्थानले आन्तरिक स्रोतबाट ३ सय ५० किलोमिटर खानेपानीको लाइन मर्मत तथा विस्तारको काम गर्न लागेको हो। खानेपानी संस्थान धनगढीका प्रमुख शाहले आन्तरिक स्रोतबाट काम सुरु गरिएको बताए। उनले भने, ‘बजेट आन्तरिक स्रोतको हो। ठाउँ अनुसार काम गर्ने हो। खानेपानीको नयाँ लाइन सञ्चालन गरी भत्केको सडकसमेत मर्मत गरिने शाहले बताए।
प्रतिक्रिया दिनुहोस्