धनगढी । ‘सपना मेरा पनि धेरै थिए । रहर मेरा पनि थुप्रै थिए । तर करेन्ट लागेर दुवै हात काम नलाग्ने भए ।’, ४० वर्षीय मानबहादुर बस्नेतले भने, ‘तर पनि संघर्ष गर्न छोडेको छैन । दुवै हात नभए पनि काम छोडेको छैन । कमाइ पनि भइ नै रहेको छ ।’
धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोलका बिष्टको दुवै हात अशक्त छन् । अझ भनौं, छैन नै ।
स्वदेशमै केही गर्छु भन्ने हुटहुटि बोकेर ग्रिल उधोगको काम सिकेर आफ्नो व्यवसाय गरेका बस्नेतको काम राम्रै भइरहेको थियो । आम्दानी पनि राम्रै हुँदै थियो । तर एकदिन अचानक काम गर्दागर्दै करेन्ट लागेपछि आफ्नो शरिरको ३३ प्रतिशत भाग जलेको बस्नेतले बताएका छन् ।
‘विदेश जान्छु भन्ने त कहिल्यै लागेन । जे गर्छु स्वदेशमै गर्छु भनेर ग्रिलको काम सिकें । काम पनि राम्रै चलिरहेको थियो । तर एकदिन काम गर्दागर्दै करेन्ट लाग्यो ।’, बस्नेतले भने, ‘करेन्ट लाग्दा मेरो शरीरको ३३ प्रतिशत भाग जल्यो । दुवै हात गुमाउनुपर्यो ।’
तर शारिरिक रुपमा हारे पनि मानसिक रुपमा नहारेको उनको भनाइ छ ।
दुर्घटनापछि बस्नेत करिब डेढ वर्ष थला परे । काम र कमाइ दुवै नभएपछि समाजमा अपहेलित हुनुपरेको भोगाइ बस्नेतले सुनाए । ‘दुर्घटना परेर थला पर्दा हेर्नेले पनि हेर्न छोडे, प्रशंसा गर्नेले पनि बेवास्ता गर्न थाले’, उनले भने, ‘त्यसबेला म साह्रै एक्लो भएँ ।’
पछि दुर्घटनाले मानसिक र शारीरिक दुवैतर्फ छोडेका घाउ बिस्तारै मेटिन थालेसंगै बस्नेतले फेरी पुरानै दैनिकीमा फर्किने निधो गरे । आफुसंग भएको सिप र ५० हजारबाट सुरु गरेर लाखौँ पुर्याएको ग्रिल व्यवसायलाई बस्नेतले फेरी आफ्नो दैनिकी बनाए ।
उनले आफ्नो आत्मनिर्भर बन्ने सपना पुरा गर्नकै लागि आफैंले सुरु गरेको ग्रिल व्यवसायलाइ निरन्तरता दिएको बताएका छन् ।
‘मलाई मेरो सपनालाई अधुरै मार्नु थिएन । त्यसैमाथि जिन्दगीले दिएको दोस्रो मौका त्यसै जान दिन मनले मानेन । त्यसैले फेरी पुरानै ग्रिल व्यवसाय सुरु गरें’, उनले भने, ‘भगवानको कृपाले अहिले सब ठिक छ । हात नभएपनि मनमा सन्तुष्टि भरिपुर्ण छ ।’
बस्नेतका अनुसार बस्नेतको ग्रिल व्यवसायमा साघाउन अहिले उनीसंग ४ जना कर्मचारी छन । दुवै हात गुमाए पनि व्यवसायमा उनलाई तिनै कर्मचारीले सघाउँछन् । जिन्दगीले दोस्रो मौका दियो भन्ने बस्नेतले अहिले त्यही व्यवसायबाट कर्मचारी खर्च, भाडा, बत्तिको बिल सबै कटाएर मासिक २० हजार रुपैयाँ नाफा कमाइरहेको बताएका छन् ।
‘दुर्घटनापछि छोडेको व्यवसाय फेरी सुरु गरेर अहिले सबै खर्च कटाएर महिनाको २० हजार नाफा कमाइरहेको छु’, उनले भने, ‘जे भयो सम्झिदा दुख लाग्छ । तर जे हुँदैछ त्यसबाट म सन्तुष्ट छु ।’
त्यसो त आफ्नो दुवै हात गुमाएका बस्नेतले आफ्नो अवस्था भन्दा पनि राज्यप्रति धेरै गुनासो गरेका छन । युवालाई स्वरोजगार बनाउने सङ्कल्पसहित ठुलाठुला भाषण दिने सरकारले आफूजस्ता अपाङ्गता भएका व्यक्ति केहि गर्छौं भनेर अगाडि बढ्न खोज्दा पनि राज्यले आत्मबल बढाउन नखोज्नु दुखद भएको बस्नेतले गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्