दुई वर्षअगाडि निर्माण सम्पन्न भएको धनगढी सभागृह अझै अलपत्र

धनगढी : दुई वर्षअगाडि निर्माण सम्पन्न भएको धनगढी सभागृह अझै प्रयोगमा आउन सकेको छैन । धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँमा निर्माण गरिएको आधुनिक सभागृह निर्माण कम्पनीले स्वामित्व हस्तान्तरण नगर्दा प्रयोगमा आउन नसकेको हो ।

सङ्घीय सरकारको ३२ करोड ६० लाख ८१ हजार रुपियाँ लगानीमा ठुला सम्मेलन, सेमिनार, गोष्ठीलगायतका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सभा हल बनाइएको हो । सभागृह प्रयोगमा नआएपछि सरकारी निकायले यस्ता कार्यक्रम मोटो रकम खर्चेर पार्टी प्यालेस र निजी होटेलमा आयोजना गर्दै आएका छन् । यसै गरी सभागृह प्रयोगविहीन हुँदा कतिपय संरचना टुटफुट भइरहेका छन् । सभा हलको सिसा फुट्न थालेको छ भने पर्खाल पनि यत्रतत्र भत्किँदै छ ।

सभागृह निर्माणको समयसीमा सकिए पनि ‘साउन्ड सिस्टम’ जडान नभएका कारण धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण हुन नसकेको वडाध्यक्ष जुगराम चौधरीले बताए । उनले साउन्ड सिस्टममै एक करोड रुपियाँ खर्च हुने जनाउँदै अझै तीनरचार करोडको काम निर्माण कम्पनीले पूरा गर्न बाँकी रहेको उल्लेख गरे ।

“एकचोटि निर्माण कम्पनीले हस्तान्तरण गर्ने भनेको थियो तर साउन्ड सिस्टम जडानको काम बाँकी रहेकाले हस्तान्तरण भएन,” वडाध्यक्ष चौधरीले भने, “अहिलेसम्म साउन्ड सिस्टम बनेको छैन । निर्माण कम्पनीले धनगढी उपमहानगरपालिकालाई सभागृह हस्तान्तरण पनि गर्न सकेको छैन ।”

सभागृहमा सात सय क्षमताको मुख्य सभा हल, दुई सय क्षमताको कार्यक्रम हल र एक सय सवारीसाधन पार्किङ गर्न सकिने पार्किङ स्थल रहेको छ । बिकेओआई एमके जेभीले ठेक्का पाएर २०७५ सालबाट धनगढी सभागृह निर्माण सुरु गरेको थियो । २०७९ असारमा निर्माण पूरा भए पनि अझैसम्म हस्तान्तरण भएको छैन । धनगढी उपमहानगरपालिकाले दिएको करिब एक बिघा जग्गामा बनेको सो सभा हललाई धनगढी उपमहानगरपालिकाले नै सञ्चालन गर्ने जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार