धनगढी । धनगढी उपमहानगरपालिका-१ पशुपति टोल बस्दै आएका ४५ वर्षीय धिरेन्द्र नेपाली विगत ३५ वर्षदेखि लुगा सिलाउने पेशामा आबद्ध छन् ।
सानै उमेरमा आमाबुवा गुमाएका धिरेन्द्रले १० वर्षको उमेरदेखि नै लुगा सिलाउने पेशा अँगालेका हुन् । आमाबुवा गुमाएपछि दिदि र बहिनीको जिम्मेवारी थपिँदा पुर्ख्यौली पेशालाई नै आफ्नो जीवन बनाएको धिरेन्द्रले बताएका छन् ।
‘म ९ वर्षको हुँदा नै आमाबुवा गुमाएँ । दिदि र बहिनीको जिम्मेवारी पनि मेरै काँधमा थपियो’, उनले भने, ‘त्यही जिम्मेवारीले थप बलियो बनायो, १० वर्षकै उमेरदेखि लुगा सिलाउने काम गर्न थालेको हुँ ।’
राम्रोसँग पढ्न लेख्न नजाने पनि धिरेन्द्रलाई लुगा सिलाउने नाप लिन गाह्रो छैन । सानैदेखि लुगा सिलाउने पेश अंगालेका धिरेन्द्रले सहजै लुगाको नापो लिन्छन् ।
हाल धिरेन्द्रको धनगढीको मेनरोडस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशाला छेवैमा सानो फुटपाथ पसल छ । जहाँ उनले आफ्नो दैनिकी मात्रै बिताउँदैनन् बरु परिवारसँगै आफ्नो जीवन पनि चलाउँदै आएका छन् । तर कोरोना माहामारी भन्दा अगाडी सोही पसलबाट पनि राम्रै कमाई हुने गरेको भए पनि आजभोली पहिलाको जस्तो कमाई नहुने धिरेन्द्रले बताएका छन् ।
‘कोरोना माहामारी अगाडी लुगा सिलाएर राम्रै कमाई गरेँ, लुगा सिलाउन पनि धेरै आउनुहुन्थ्यो’, उनले भने, ‘तर आजभोली पहिलाको जस्तो भीड छैन, कमाई त हुन्छ तर सोचेको जस्तो हुँदैन । जेनतेन परिवार चलाउन पुगेको छ ।’
धिरेन्द्र आफ्नो पेशासँग खुसी छन् । पुर्खाले धान्दै आएको पेशा अंगाल्न पाउँदा उनी आफूलाई भाग्यमानी ठान्छन् । आफ्नो काम र पेशलाई मनैदेखि स्वीकार गरेर दशकौँ बिताएका धिरेन्द्र अहिले मात्र होइन, भविष्यमा पनि यही पेशालाई निरन्तरता दिने बताउँछन् । तर ३ दशकदेखि एउटै कर्ममा रहँदा पनि आफ्नो सीपको सम्मान र मूल्यांकन भने नभएको धिरेन्द्रको भनाई छ । उनले राज्य सँधै धनीका लागि मात्रै भएको र गरिबका लागि राज्य, कानून र गणतन्त्र केही नभएको भन्दै गुनासो पोखेका छन् ।
संघर्ष गरे सफलता अवश्य पाइन्छ भन्ने मान्यता राख्ने धिरेन्द्रले अरुलाई पनि आफ्नो काम र पेशालाई माया गर्न र उद्धेश्य प्राप्तीप्रति दृढ रहन सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्