काठमाडौँ : क्यानडामा भइरहेको त्रिदेशीय टि–२० शृङ्खलामा नेपालले ओमानलाई हराएको छ । किङ सिटीमा आज बिहान सकिएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो ।
नेपालले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको ओमान १९ ओभर एक बलमा एक सय ३९ रन बनाउँदै अल आउट भयो । ओमानका लागि सोयब खानले सर्वाधिक ४५ रन बनाए । नेपालका करण केसीले तीन विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले नट आउट रहँदै सर्वाधिक ४० रन बनाए ।
ओमानका कप्तान अकिब इल्यासले तीन विकेट लिए । यो शृङ्खलाको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा भोलि क्यानडासँग र चौथो खेलमा पर्सि बुधवार फेरि ओमानसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्