कैलाली : कैलालीको भल्का स्थित खुटिया नदीमा निर्माण गरिएको पुल अहिले बेकामे बनेको छ । पुलको उत्तरपट्टिको पहुँच मार्ग भत्काएर पुल पारी नदी बगेर कटान गरेपछि पुल अहिले प्रयोग गर्न नमिल्ने बनेको हो ।
यो पुलले गोदावरी नगरपालिका ९ का बल्मी, राजीफाँटालाई सेहरी सँग जोडेको थियो । वडा कार्यालय नै सेहरीमा भएकाले बल्मी र राजीफाँटाका स्थानीय यही पुल भएर आवतजावत गर्दै आएका थिए भने सेहरीबाट घाँस दाउरा गर्न पनि यही पुलको बाटो प्रयोग गरिँदै आएको थियो । तर, अविरल वर्षा सँगै खुटिया नदीमा आएको बाढीले नदी पुरानै धारमा फर्किएपछि पुल बेकामे बनेको छ ।
“अहिले पुल भएको ठाउँमा त पहिले चौर थियो केही वर्ष अघि नदी यता मोडिएको थियो । अहिले पुनः पुरानै स्थानतर्फ मोडिएको छ ।” उनले पहिले भल्का (पर्यटकीय स्थल) छेउ भएर नदी बग्ने गरेको स्थानीय जगत राम रानाले बताए ।
नदी दक्षिणतर्फ मोडिएको समयमा पुल बनाइएकोमा अहिले नदी उत्तरतर्फ मोडिदा अहिले तटबन्ध गरेर समेत पुल जोगाउन सकिने अवस्था नरहेको वडा अध्यक्ष रामलाल रानाले बताए । उनले अब तटबन्ध गर्नु भन्दा उत्तर तर्फ पुल थप्नु उत्तम विकल्प हुने बताए ।
प्रतिक्रिया दिनुहोस्