धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘आमा बचाउ’ अभियान प्रभावकारी

धनगढी : कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘आमा बचाउ’ अभियान प्रभावकारी बनेको छ ।

उपमहानगरले अघिल्लो आर्थिक वर्ष २०७९/८० को मङ्सिरबाट सुरु गरेको उक्त अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् । गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको ‘आमा बचाउ’ अभियानबाट अघिल्लो र गत आव २०८०/८१ गरी दुई वर्षमा चार सय ५४ महिलाले सेवा प्राप्त गरेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।

उनका अनुसार आमा र शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी सञ्चालन गरिएको ‘आमा बचाउ’ अभियानमा उक्त अवस्थाका महिलालाई अस्पतालसम्म पुर्‍याउन उपमहानगरले चारवटा एम्बुलेन्सबाट निःशुल्क सेवा सञ्चालन गरेको छ ।

एउटा एम्बुलेन्स उपमहानगर आफैँले सञ्चालन गरेको र तीनवटा एम्बुलेन्स वडा नं १६, १८ र १९ बाट सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले जानकारी दिए । “ग्रामीण क्षेत्रमा अस्पतालसम्म पुग्न सवारी साधन पाइँदैन”, उनले भने, “यसैलाई मध्यनजर गरी यो अभियान सञ्चालन गरिएको हो । यसबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुनुभएको छ ।”

‘आमा बचाउ’ अभियान ग्रामीण क्षेत्रका महिलालाई निकै प्रभावकारी भएको वडा नं। १९ का वडाध्यक्ष बाँधुराम चौधरीले बताए । उनले भने, “कसैसँग अस्पताल पुग्ने भाडासमेत हुँदैन । उहाँहरुलाई यसले राहत प्रदान गरेको छ । अस्पतालसम्म पुग्न अन्य सवारी पाउन पनि मुस्किल पर्छ । निःशुल्क एम्बुलेन्स सेवाले गर्भवतीलाई अस्पतालसम्म पुग्न सहज भएको छ ।”

चालु आवमा पनि अभियान निरन्तर रहेको उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन् । “हामी यस अभियानलाई अझै प्रभावकारी बनाउदै लैजाने योजनामा छौँ”, उनले भनिन्, “चालु आवमा थप एउटा एम्बुलेन्स पालिकाले ल्याइसकेको छ । त्यो पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी छ ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार